Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


पर्यटनको विकास गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक
काठमाडौं, फागुन ४
पर्यटनको विकास गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको २५औं वार्षिक साधारणसभामा उनीहरुले पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न अत्यन्त आवश्यक रहेको बताए । शुक्रबार पोखरास्थित टिका रिसोर्टमा आयोजित सो साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले सरकारले हवाइ इन्धनको मूल्य घटाए पनि वायुसेवा कम्पनीहरुले भने हवाइ भाडा नघटाएको गुनासो गरे ।

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको भए पनि त्यो सर्वसाधारण र ग्राहकहरुलाई फाइदा हुने गरी जानुपर्ने बताए । ‘सरकारले एयर फ्युल चार्ज घटायो तर त्यो घटेको मूल्यअनुसार वायुसेवा कम्पनीहरुले भने टिकट दर घटाएनन्, त्यो कस्टमरसम्म पुगेन्,’ सचिव अधिकारीले भने ।

उनले आगामी दिनमा अझ हवाइ इन्धनको मूल्य घटाउन प्रयास गर्ने भन्दै पूर्वाधारमा समेत जोड दिइरहेको बताए । उनले पछिल्लो दिनमा कोरोनाभाइरसका कारण पर्यटन क्षेत्र समस्यामा परेको भन्दै त्यसमा सरकारले ध्यान दिइरहेको बताए । ‘हामीजस्तो सानो मुलुकले हवाइ उडान नै रोक्नुहुँदैन, त्यसले अर्थतन्त्रमा नै असर पर्नेछ, तर सरकारले त्यसलाई नजिकबाट निगरानी गरिरहेको छ’, उनले भने ।

पर्यटन सचिव अधिकारीले स्थानीय हवाइ कम्पनीहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने भन्दै सातै प्रदेशलाई एक आपसमा जोड्न काम अगाडि बढाइरहेको जानकारी दिए । अहिलेका पर्यटकीय क्षेत्रहरुभन्दा बाहिर थप स्थानहरुमा पर्यटकीय विकास गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरालाई पर्यटकीय नगरीको रुपमा थप विकास गर्न पर्यटन व्यवसायीहरुसँग मिलेर काम गर्ने बताए । उनले पोखरामा पर्यटक बसपार्क बनाइरहेको र त्यो केही समयमै तयार हुने अवस्थामा रहेको जानकारी दिए ।

‘ट्राभलर टूर बसको स्तरीकरण गरिनुपर्दछ, अहिले हेर्दा नगरबसमा पनि पर्यटक बस भनेर लेख्नेजस्तो अवस्था आएको छ’, पोखरा महानगरपालिकाका मेयर जिसीले भने । मेयर जिसीले पोखरामा नयाँ पर्यटन पूर्वाधार विकास गर्ने प्रयास गरिरहेको भन्दै त्यसको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका थिए । नाट्टा गण्डकी प्रदेशको वार्षिक साधारणसभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष अच्युत शर्मा गुरागाईँले पर्यटन पूर्वाधार विकास गर्न र पर्यटकीय क्षेत्रमा सुविधा पु¥याउन सरकारसँग आग्रह गरे ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने अत्यन्त आवश्यक रहेको छ, हामी आगामी वर्ष बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट गर्ने तयारीमा छौं तर अझै बाटोको अवस्था नाजुक छ’, उनले भने । त्यसैगरी अध्यक्ष गुरागाईँले माइस टूरिजमको विकास गर्न र अन्तर्राष्ट्रियस्तरको सेमिनारहरु गर्न सेमिनार हलको अभाव रहेको भन्दै सरकारले जग्गा दिन निजी क्षेत्र बनाउन तयार रहेको स्पष्ट पारे । उनले कनेक्टिभिटी बढाउनुपर्ने भन्दै सरकारले पर्यटकीय क्षेत्रहरुमा कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए ।

२५औं साधारणसभामा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटकीय नगरीको रुपमा पोखरा चर्चित भए पनि पछिल्लो दिनमा पर्यटकीय गन्तव्य नथपिएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटकहरुलाई थप आकर्षित गर्न नयाँ प्रडक्ट विकास गर्नु आवश्यक भएको भन्दै प्रवर्द्धनले मात्र पोखरामा पर्यटक नआउने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षलगायतले साधारणसभाको सफलताको कामना गरेका थिए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका उत्कृष्ट २ टूर एण्ड ट्राभल अपरेटर तथा २ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नाट्टा गण्डकी प्रदेशको २५औं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x