Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा बाँदरको आतङ्क, बाँदर लखेट्न जाँदा एक किसानको मृत्यु

दोलखामा बाँदरको आतङ्क, बाँदर लखेट्न जाँदा एक किसानको मृत्यु


दोलखा । पछिल्लो समय दोलखामा जंगली जनावर बाँदरआतङ्कले जिल्लाभरका किसान चिन्तित बनेका छन् । मुख्य बालिकाको रूपमा लगाइएको मकै तथा फलफूल बारीमा बाँदरको हुल पसेर नष्ट गर्न थालेपछि जिल्लाका अधिकांस किसान मारमा परेका हुन् ।

करिब ६०–७० वटा बाँदरको हुल नै पसेर बाली तथा फलफूल नष्ट गर्न थालेपछि बाँदरबाट बाली जोगाउन बारीमा पुगेका जिल्लाको शैलुङ गाउँपालिकामा एक पुरुषको शुक्रबार साँझ मृत्यु भएको छ । घरछेउको करेसा बारीमा लगाइएको बाली खान आएका बाँदरहरुलाई लखेट्ने क्रममा शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङगेश्वरका ५६ वर्षीय राम बहादुर कार्कीको मृत्यु भएको हो । उनका आफन्त ईन्द्र बहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो मकैबाली तथा फलफूल खान आएका बाँदर लखेट्ने क्रममा कार्कीको लडेर हृदयाघात भएको थियो । हृदयाघात भएपछि कार्कीलार्ई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको न्यूरो अस्पतालमा पु-याइएको भए पनि अस्पतालले तत्काल मृत घोषण गरेको प्रहरीले जनाएको छ । शैलुङका प्रायजसो सबै ठाउँका स्थानीय बादरआतङ्कले चिन्तित बनेका छन् ।

यता जिल्लाको बैतेश्वर गाउँपालिकाको नाम्दुमा पनि बादरआतङ्कले करिब तीन सय घरपरिवार चिन्तित बनेका छन् । भर्खरै घोगा लाग्दै गरेको मकैबालीमा बाँदर पसेर नष्ट गरिदिने गरेको छ । बैतेश्वर गाउँपालिका वडा नं ६ स्थित चलेत्रोपाखा सामुदायिक बनमा बस्दै आएको करिब तीन सय रातो बाँदरको बथानले लगातार दार्मे, डाँडागाउँ, देउपुजे, आगेटार, नाम्दु, मेघेचौरलगायतका स्थानहरुमा किसानले लगाएको मकै, कोदो, धान आलुलगायतका अन्नबालीका साथै सम्पूर्ण फलफूल नष्ट गर्दै घर–घरमा समेत आएर दुःख दिने गरेको स्थानीय बसन्त तिवारीले जानकारी दिए ।

तिवारी भन्छन्, ‘एकातर्फ सिँचाइ छैन, जमिन सुक्खा हुनेभएकोले खेती लगाउन आकाशेपानीको भरोसामा खेती गर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ खेतीपातीको समयमा मल समेत पाइँदैन । जसोतसो अनेक दुःख गरेर लगाएको बाली पूर्णरुपमा बाँदरले नष्ट गरिदिँदा किसानले अति नै कष्ट व्यहोर्नुपरेको छ ।’ यसैगरी दिनप्रतिदिन बाँदरआतङ्क बढ्दै जाने हो भने सयौँ हेक्टर जमिन बाँझै हुने र गाउँमा खाद्यसङ्कट पैदा हुने उनले बताए । दोलखाको शैलुङ र बैतेश्वर मात्र नभई पछिल्लो समय जिल्लाभर बादरको आतङ्क तीव्ररूपमा वृद्धि हुँदै गएको छ ।

जिल्लाको कालिञ्चोक गाउँपालिकाले बाँदरआतङ्क बढेपछि त्यसलाई रोक्न भन्दै ‘एक घर एक बाँदर’ पाल्नुपर्ने नीति नै लिएको छ । गाउँपालिकाले बाँदर नियन्त्रण गर्न प्रत्येक घरले एउटा बाँदर कुकुरजस्तै गरी पाल्नुपर्ने भन्दै पाँच लाख बजेट विनियोजन गरेको छ । कालिञ्चोक गाउँपालिकाका विभिन्न जंगलमा करिब चार सयदेखि छ सयवटा साना–ठूला बाँदरहरु बस्दै आएको स्थानीय बताउँछन् । त्यस्तै जिल्लाको भीमेश्वर नगरपालिकामा पनि बाँदरको आतङ्क बढेको छ । भीमेश्वर नगरपालिका पनि यसअघिका जनप्रतिनिधिले बादर नियन्त्रणको लागि भन्दै लाखौँ रकम छुट्याए पनि हालसम्म बाँदर नियन्त्रण हुन नसकेको स्थानीयहरुले बताएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x