Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराज्यले नदेखेको दोधारा चाँदनीका वादी समुदाय

राज्यले नदेखेको दोधारा चाँदनीका वादी समुदाय


धन बहादुर जप्रेल दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रमा बसोबास गर्ने वादी जातिहरु घरबास नहुँदा समस्यामा परेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका वादीहरु खाना र बस्नको सुविधा नहुँदा समस्यामा परेका हुन् ।

दोधारा चाँदनी नगरपालिकामा सरकारले गरिब तथा विपन्न परिवारलाई भनेर आवास कार्यक्रम वितरण गर्दै आए पनि बडवाल टोलका वादीहरुलाई वास्ता नगर्दा एक वर्षदेखि च्यात्तिएको त्रिपालको सहारामा बस्न बाध्य भएका छन् । ‘गाँस र कपासको समस्या त, टाढै जाओस् बस्नका लागि वर्षायाममा च्यात्तिएको त्रिपालमुनि रात काट्नुपर्ने हुँदा निकै समस्या हुने गरेको छ’, बडवाल टोलका वादी घरपरिवारका मुखिया बिरभाने वादीले भने ।

एक गैरसरकारी संस्थाले दिएको त्रिपाललाई घामपानीले च्यातिदिएको हुँदा आकाशबाट पानी परेपछि रातभरि सुत्न नपाइँने बिरभाने वादीको दुखेसो छ । ‘एक वर्षअघि मात्रै संस्थाहरुले दिएको त्रिपाल घामपानीले च्यात्तिएको हुदा आकाशको पानी आएको बेला निकै बिचिल्ली मच्चिन्छ’ बिरभाने वादीले भने, ‘छानो बनाएको त्रिपाल च्यात्तिएकोले रातिको समयमा नानीहरुलाई आकाशको पानीबाट जोगाउनै रात बित्छ ।’ राम्रो वासस्थान नभएको कारण अहिलेको वर्षा कसरी काट्ने हो भन्ने उनीहरुमा चिन्ता छाएको छ ।

‘सिजनमा माछा मार्ने, मादल मोर्ने र सिजन नहुँदा अर्काको मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गर्छौँ’ सिता वादीले भनिन् । स्थानीय सपना वादी लामो समयदेखि बिरामी छिन् । अनुहारभरि स–साना खटिराजस्तो घाउ आएको कारण आँखा रातो हुनेलगायतको समस्या खेप्दै आएको सपनाले बताइन् । उनका श्रीमान् रेशम वादीले भारतबाट ज्याला मजुरी गरेको पैसाले उनको उपचार गर्नमै ठिक्क भएको छ । जसका कारण घरमा खानाको निकै समस्या पर्दै आएको उनले बताइन् । सपना पनि त्रिपालले छाएको घरमा एक वर्षदेखि दिन काट्दै आएकी छिन् । च्यात्तिएको त्रिपालले वर्षा भएको बेला थेग्न नसक्दा कयौँ रात अनिदो बिताउनुपरेको उनको पनि गुनासो छ । ‘वर्षाको समयमा पानी धरधरी चुहिन्छ । पानी पर्दा रातभर सुत्न पाइँदैन । कपडाहरु पूरै भिजेका हुन्छन् । हावाहुरीले बारम्बार त्रिपाल फाल्छ, कहिलेकाहीँ भागाभाग हुन्छ’, सपनाले भनिन् ।

दोधारा चाँदनीका वादी घरपरिवारको दैनिकी कष्टकर जीवन बित्दै आएको छ । वादी घरपरिवारलाई एक छाक खानाको निकै समस्याले पिरोल्दै आएको अवस्थामा बासको मात्र सरकारले व्यवस्था मिलाई दिएमा आफूहरुलाई ठूलो सहयोग हुने उनीहरु बताउँछन् । बडवाल टोलमा पाँच घरधुरी वादी घरपरिवारहरु बसोबास गर्दै आएका छन् । सबै वादीहरुको लागि आवासको निकै ठूलो समस्या छ । वादी जातिलाई राज्यले अपहेलित गरेको उनीहरुको बुझाइ छ । देशकै सानो समुदायको रुपमा रहेको वादी समुदायको संरक्षण गर्दै उनीहरुको जीवनशैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हो । तर पनि तीनवटै तहको सरकारको नजर यहाँका वादी परिवारमाथि परेको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x