Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआठ वर्ष लाग्दा समेत सकिएन सुपर दोर्दी ‘ख’ आयोजनाको काम

आठ वर्ष लाग्दा समेत सकिएन सुपर दोर्दी ‘ख’ आयोजनाको काम


लमजुङ । तीन वर्षमै सम्पन्न गरिने गरी निर्माण थालिएको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले आठ वर्ष लाग्दा समेत आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्नेगरी निर्माण सम्झौता गरे पनि आयोजना अझै अपूरो रहेको छ ।

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ भित्रमा काम सम्पन्न गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्म समयावधि बढाइएको थियो । सो अवधिमा निर्माण कार्यमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटक–पटक म्याद थप्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । उक्त समयमा निर्माणसन्पन्न नभएपछि आगामी असोज महिनाभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए ।

उनका अनुसार हालसम्म जम्मा ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको दुई सय २७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । टनेल, पावर हाउसलगायत अधिकांश काम सम्पन्न भएको छ । साइट इन्चार्ज सिग्देलले भने, ‘डिफेन्डर बनाउने काम, इनक्लाप साफ्टको चार सय ६३ मध्ये दुई सय मिटर पेनस्टक पाइप इनपोइन्टमा राख्न बाँकी रहेको र सुरुङमा माटो थुप्रिएको सफा गर्ने तथा फिनिसिङ गर्ने कार्य मात्र बाँकी रहेको छ । अबको एक महिनाभित्रमा डिफेन्डरको काम सम्पन्न गरिनेछ ।’

आयोजनाका अनुसार यतिबेला वर्षायाम भएकाले आयोजनाको ढुवानी गर्ने सवारीसाधनलाई बाटोले समस्या बनाइरहेकाले समय बढी पनि लाग्न सक्ने भएको छ । करिब १० किलोमिटर सुरुङमार्गमध्ये एक हजार छ सय मिटरको सुरुङमार्गको भुइँको ढलान सम्पन्न भइसकेको र माथिपट्टिको काम भइरहेको छ । अर्को एक हजार सात सय मिटरको इनटेक सुरुङ र एक हजार चार सय मिटरको अर्को सुरुङको फिनिसिङ भइरहेको छ । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थु्र भइसकेको छ । नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीपहिरो, कोरोना संक्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिँदै गएको हुँदा यतिका वर्षसम्म पनि निर्माणसम्पन्न हुन नसकेको इन्चार्ज सिग्देलको भनाइ थियो । कुल आठ अर्ब ८० करोडको लगानीमा निर्माण अघि बढाइए पनि थप लगानी बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् ।

७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी रहेको छ । उक्त आयोजनाबाट सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पीपीए) सम्झौता भएको छ । पानीको बहाबमा आधारित यो आयोजनाको कुल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यस आयोजनाबाहेक यस कोरिडोरमा निर्माणाधीन आयोजनाले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै अघि बढिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x