Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचालू आव सकिन सात दिन बाँकी राजस्व संकलन १० खर्ब ७० करोड

चालू आव सकिन सात दिन बाँकी राजस्व संकलन १० खर्ब ७० करोड


काठमाडौं ।    चालू आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षित रूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ ।

चालू आव सकिन अब एक साता बाँकी छ । सरकारले चालू आवमा कुल ११ खर्ब ८० अर्ब ६० करोड चार लाखबराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कुल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ । त्यसमा कर राजस्व कुल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालू आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिएबराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।

त्यस्तै गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाखबराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाखबराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो । कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाखबराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाखबराबर प्राप्त भएको छ । कुल लक्ष्यको २३.१७ प्रतिशतबराबर हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालू आवको हालसम्म अर्थात् (असार २५ गते) शनिबारसम्म कुल लक्ष्यको ८५.३३ प्रतिशतबराबरको प्राप्त गरेको छ ।

त्यस्तै सरकारको खर्चतर्फ कुल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालू खर्च रहेको छ । चालू आवका कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाखबराबर खर्च भएको छ । त्यसमा चालू खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाखबराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ३८ अर्ब २० लाखबराबर खर्च भएको छ । यो भनेको कुल लक्ष्यको ८८.०५ प्रतिशतबराबर हो ।

यस्तै पुँजीगत खर्च कुल लक्ष्यको ४६.२२ प्रतिशतबराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाखबराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाखबराबर खर्च भएको छ ।

यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको सावाँ र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ । चालू आवमा एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाखबराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म ९९ अर्ब ३५ करोड ९० लाखबराबर भुक्तानी गरेको छ ।

सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालू आवमा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कुल सरकारी खर्चमध्ये चालू खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक छ । चालू आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालू आव वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालू आवमा दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ । रासस


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x