Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधछोरालाई कामका लागि विदेश पठाउन मनमायालाई अब सहज

छोरालाई कामका लागि विदेश पठाउन मनमायालाई अब सहज


दोलखा । घरको आर्थिक अवस्था सुदृढ बनाउनको लागि बैतेश्वर गाउँपालिका ३ की मनमाया बस्नेत छोरालाई वैदेशिक रोजगारीमा पठाउने तयारीमा छिन् । छोरालाई विदेश पठाउन सहज बनाइदिएको छ गाउँ–टोलमै राष्ट्रिय परिचयपत्र शिविर सञ्चालनले । उनी रहरले नभई छोरालाई बाध्यताले विदेश पठाउन लागेको बताउँछिन् ।

राष्ट्रिय परिचयपत्र सबैले लिनुपर्छ भन्ने थाहा भएसँगै केही साताअघि जिल्ला प्रशासन कार्यालय पुगेकी बस्नेतले घन्टौँसम्म लाइन बस्दा समेत पालो नआएपछि रित्तोहात घर फर्किएकी थिइन् । ‘छोराको राहदानी बनाउनको लागि राष्ट्रिय परिचयपत्र बनाउन दिनभर लाइन बस्दा मैले टोकन समेत पाउन सकिनँ’, बस्नेतले आर्थिक दैनिकसँग भनिन् । तर अहिले शिविर सञ्चालनले उनलाई राहत मिलेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने पहिलो चरणको कार्य राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा जिल्लाका स्थानीय तहले आ–आफ्ना गाउँ–टोलमै शिविरको रूपमा सञ्चालन गरेपछि बस्नेतसँगै जिल्लाका ग्रामीण भेगका स्थानीय नागरिक थप लाभान्वित बन्न पुगको छन् ।

वडामै विवरण संकलन सुरु भएको थाहा पाएपछि वडा पुगेकी बस्नेतले सहजरूपमा दर्खास्त विवरण दिएको बताइन् । पञ्जीकरण विभागले जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामै असार दोस्रो सातादेखि धमाधम वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम जारी राखेका छन् । राष्ट्रिय पञ्जीकरण विभागले जिल्लाका ७४ वडामा शिविरको रूपमा ग्रामीण भेगका गाउँ–टोलमै आवश्यक सामग्रीको व्यवस्थापन गरेर यो अभियान सञ्चालन गरेको हो ।

सोही अभियानअनुसार जिल्लाको बैतेश्वर गाउँपालिकाका आठ वडामा पनि शिविरको रूपमा वडामार्फत प्रतिनिधि खटाएर राष्ट्रिय परिचयपत्र बनाउने काम सुरु भएको छ । पालिकाभित्र रहेका सबै वडाले अहिले पत्येक वडा तथा टोलमा पुगेर दरखास्त विवरण संकलन गर्न सुरु गरेका छन् । विवरण संकलन कार्य साउन ५ गतेसम्म सञ्चालन हुने बैतेश्वर गाउँपालिकाले जनाएको छ । विवरण संकलन सकेर राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । गाउँपालिका तथा वडाले परिचयपत्रको लागि सक्कल नागरिकता, बाबुआमाको नागरिकता, बसाइँसराइ दर्ताको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, मृत्यु दर्ताको पत्रसहित वडा तथा शिविर सञ्चालन गरिएका टोलमा गएर दरखास्त दिनसक्ने जनाएको थियो । अहिले यहाँका नागरिकले आफ्नो गाउँ तथा टोलको पालोअनुसार विवरण टिपाउन थालेका हुन् ।

बैतेश्वरका नागरिकले असार २१ गतेदेखि साउन ५ गतेसम्म दरखास्त दिन सक्नेछन् भने बाहिर रहेका नागरिकले आफू बसेकै ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सक्नेछन् । अन्य सबै परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने भएकाले वडाबाटै जैविक तथा वैयक्तिक विवरण संकलनको काम सुरु गरेको बैतेश्वर गाउँपालिका प्रवक्ता श्यामकुमार घिसिङले जानकारी दिए । वडाले तोकेको समयमा विवरण उपलब्ध गराउन छुटेका नागरिकले साउन ७ देखि ९ गतेसम्म सबै वडा कार्यालय गएर विवरण टिपाउन सक्नेछन् ।

शिविर सुरु भएको एक सातामा बैतेश्वर गाउँपालिकाका ५५ प्रतिशत नागरिकले दर्खास्त विवरण टिपाइसकेका छन् । वडा तथा गाउँमै परिचयपत्रको बनाउने कार्यले बैतेश्वर गाउँपालिकाभित्रका अशक्त, अपांगता भएका नागरिक र महिला तथा जेष्ठ नागरिकलाई सहज भएको छ । त्यसैगरी जिल्लाको तामाकोशी गाउँपालिकाले पनि पालिकाभित्रका ७ वडामा राष्ट्रिय परिचयपत्र बनाउने कार्य वडाबाटै सुरु गरेको छ । वडा नम्बर १ देखि ७ सम्म वडाका पूर्वसाबिक वडा तथा गाउँमै पुगेर विवरण संकलनको काम सुरु भएको जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x