Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकलेज अफ मेडिकल साइन्सेसमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

कलेज अफ मेडिकल साइन्सेसमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन


चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ । मधुमेह (सुगर)का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या वृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालले मध्यनेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको दाबी गरेको छ । सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रिनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकून् भन्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

सम्झौताअनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच (मधुमेह परीक्षण) गर्न सक्नेछन् । यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुविधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसीबाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाइएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाइएको छ । दुबै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

समाजका अध्यक्ष एमप्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुसीको कुरा भएको बताए । समाजले एमप्रसाद शर्मा, केशव देवकोटा र लक्ष्मण पौडेललाई यो सेवा सहजीकरणका लागि तोकेको छ । यसैगरी अस्पतालका तर्फबाट समुदाय स्वास्थ्य सेवा विभाग (कम्युनिटी हेल्थ सर्भिस)ले सहजीकरण गर्ने अस्पतालले जनाएको छ । अस्पतालले मधुमेहसम्बन्धी सेवाका लागि ९८०२०१०००३ नम्बरको हटलाईन टेलिफोन समेत व्यवस्था गरेको छ ।

उच्च आय भएका देशहरुको तुलनामा निम्न तथा मध्यम आय भएका देशहरुमा मधुमेहको प्रकोप तीव्र रुपमा बढिरहेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार सन् १९८० मा चार दशमलव सात प्रतिशत वयस्कहरु (१८ वर्ष र माथिका) लाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर ८.५ प्रतिशत पुगेको छ । यो अवधिमा मधुमेह भएका व्यक्तिको सख्या झण्डै चार गुणा बढेको छ । सन १९८० मा १० करोड ८० लाख मधुमेह भएका व्यक्ति थिए भने सन् २०१४ मा आइपुग्दा यो संख्या ४२ करोड २० लाखमा पुगेको र यो दशकको अन्तसम्ममा आधा अर्ब नाघ्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । अन्य नसर्ने रोगहरुबाट हुने अकाल मृत्युदर घट्दै गएता पनि मधुमेहबाट हुने अकाल मृत्युदर घटेको छैन, बरु सन् २००० र २०१६ को बीचमा ५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्ने जाँच गराएका थिएनन् । मलाई सुगर छ भनेर थाहा पाउनेहरु करिब दुई प्रतिशत मात्र थिए । तर नेपालमा लगभग नौ प्रतिशत वयस्कहरुमा टाइप दुई प्रकारको मधुमेह होला भन्ने अनुमान गरिएको छ । सुगरको मात्रा नियन्त्रणमा नरहे मिर्गौला, नसा तथा आँखाको समस्या निम्तिने चिकित्सकहरुको भनाइ छ । लामो समयसम्म रोग निको नहुने हुनाले सबै समयमै सचेत भई समय समयमा सुगर (मधुमेह) परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x