Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधछ उद्योगविरुद्ध मुद्दा दायर

छ उद्योगविरुद्ध मुद्दा दायर


दमौली । तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक वर्षको अवधिमा छवटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा अनुगमनका क्रममा कैफियत देखिएका तनहुँका तीन, गोरखाका दुई र नवलपुरका एक उद्योगविरुद्ध मुद्दा दायर गरिएको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए ।

कार्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कृष्ण पाउरोटी उद्योग, भीमाद नगरपालिकास्थित अभिषेक बेकरी उद्योग तथा ग्लोबल एग्रो प्रोडक्ट्स, गोरखास्थित क्षितिज पुष्टकारी उद्योग तथा कुँवर एन्ड ब्रदर्स गु्रप र नवलपुरस्थित सरस्वती डेरी उद्योगविरुद्ध सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । तीमध्ये कृष्ण पाउरोटीलाई पाँच हजार रूपैयाँ, अभिषेक बेकरीलाई सात हजार पाँच सय रूपैयाँ, क्षितिज पुष्टकारीलाई एक हजार रूपैयाँ, ग्लोबल एग्रोलाई ३० हजार रूपैयाँ, सरस्वती डेरी उद्योगलाई तीन हजार रूपैयाँ जरिवाना गरिएको थियो । कुँवर एन्ड बद्रर्सको मुद्दाको भने निर्णय हुन बाँकी रहेको र अन्य २० वटा मुद्दा भने अनुसन्धानका क्रममा रहेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।

कार्यालयले सोही अवधिमा खाद्य ऐन नियमबमोजिम एक सय ९० वटा खाद्यको नमूना संकलन गरेर भैरहवास्थित प्रयोगशालामा परीक्षण गराएको थियो । दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फलफूल तथा सागपातका २६, मसलाका १४, चिया तथा कफीका १४, नुनका दुई, खाद्यान्न, दलहन र सोसँग सम्बन्धित ४४, प्रशोधित पिउनेपानीका १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना संकलन र परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले एक वर्षको अवधिमा खाद्य निरीक्षकको नेतृत्वमा एक सय ४५ वटा खाद्य तथा दाना बजार अनुगमन गरेको थियो । चाडपर्वका बेला मात्र नभई अन्य समयमा पनि नियमित बजार अनुगमन गर्दै आएको कार्यालय प्रमुख पोख्रेलले बताए । तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर कार्यक्षेत्र रहेको सो कार्यालयले अनुगमका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको थियो भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको थियो ।

कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्यपदार्थ सञ्चय तथा बिक्रीवितरण नगर्न, बढी रंगीन तथा सडेगलेका र झिँगा भन्केका फोहर अस्थामा राखिएका खाद्यपदार्थ प्रयोग नगर्न, सडकपेटीमा खुला राखी कुनै पनि खाद्यपदार्थ बिक्रीवितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ । कार्यालयले गत वर्ष चार पटक खाद्य उद्योगीका लागि स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, दुई पटक स्थानीय तहका लागि खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गर्नाका साथै सरोकारवालासँग अन्तरक्रिया पनि गरेको जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x