Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलसुनले मूल्य पाएन

लसुनले मूल्य पाएन


रुकुम(पूर्व) । लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० रूपैयाँ पर्छ । चुनवाङका लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो एक सय रूपैयाँका दरले लसुन बिक्री गर्न चाहन्छन् ।

एक किलोको एक सय रूपैयाँ कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घर–घरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए । अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उनको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका खड्काले अहिले भने उत्पादन घटेको बताए । यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काको भनाइ छ । उनका अनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीनदेखि १० क्विन्टलको हारहारीमा लसुन छ । चुनवाङकै पूर्ववडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए ।

बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन संकलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन संकलन गर्न नसकिने उनको भनाइ थियो । यसवर्ष चुनवाङमा चार सय ३२ दशमलब ३५ मेट्रिक टन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए । उनकाअनुसार यो उत्पादन गत वर्षको तुलनमा १२ दशमलव १३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x