Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिरोले घरखेत तानेपछि धमाधम गाउँ छाड्दै लापिलाङका स्थानीय

पहिरोले घरखेत तानेपछि धमाधम गाउँ छाड्दै लापिलाङका स्थानीय


दोलखा । विगत तीन वर्षदेखि जिल्लाको उत्तरी क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नम्बर–५ लापिलाङमा लगातार पहिरोले बस्ती तानिरहेको छ । पहिरोले घरसँगै खेतबारी पनि बगाएपछि पछिल्लो समय यहाँका दर्जनौँ स्थानीयले गाउँ छोडेर हिँडेका छन् । पहिरोले यहाँका सयौँ घर उच्च जोखिममा छन् भने दर्जनौँ घर–परिवारलाई घरजग्गाविहीन बनाएको छ ।

पहिरोले पुख्र्यौली सम्पत्तिको नामनिशान मेटाउन थालेपछि पछिल्लो समय गाउँ छोडेर हिँड्नेको संख्या वृद्धि हुँदै गएको कालिञ्चोक–५ लापिलाङका वडाअध्यक्ष सहदेव खड्काले जानकारी दिए । वडा अध्यक्ष खड्काका अनुसार पहिरोका कारण दुई गाउँका १६ घरपरिवारले गाउँ छाडिसकेका छन् । गाउँ छाड्नेमा वडानम्बर–५ कात्तिके टोलका ११ घर नेवार परिवार रहेका छन् भने मिजार टोलका छ घरपरिवारले पनि गाउँ छोडेर सहर पसेको उनले बताए । चारैतिरबाट पहिरोले चिरा पारेको घर तथा खेतीयोग्य जमिन बगाएका कारण गुजारा चलाउनैका लागि पहिरो पीडितले गाउँ छाडेर अन्यत्र हिँडेको वडा अध्यक्ष खड्काले बताए । पहिरोले हातमुख जोड्ने सबै खेतबारी र भूकम्पपछि निर्माण गरेको घर नै बगाएकाले गाउँ छोडेर हिँड्नुपरेको स्थानीय पहिरोपीडितहरूको दुखेसो छ ।

लापिलाङ पहिरोले मानवीय क्षति नगरे पनि हालसम्म दुई दर्जन बढी घरपरिवारलाई पूर्णरूपमा विस्थापित बनाएको छ । तीन वर्षदेखि आइरहेको पहिरोले यसवर्ष थप चार घर बगाएको छ भने चार दर्जन बढी घरपरिवारलाई प्रभावित बनाएको छ । रानीभिरबाट खस्न सुरु भएको पहिरोले अहिले आधा बस्ती बगाइसकेको छ ।

पहिरोले तीन वर्षको अवधिमा पाँच सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन र २२ घर बगाइसकेको छ । त्यस्तै पहिरोले पाँचवटा वडाको मुख्य राजमार्ग सुनखानी–साँवा सडकलाई पनि तान्न सुरु गरेको छ । पहिरोले सडकभन्दा तल्लो क्षेत्रमा रहेका घर तानेर सडक नै तान्न थालेको अध्यक्ष खड्काले बताए । कालिञ्चोक गाउँपालिकाभित्रका पाँच वडाहरू र बिगु गाउँपालिकाका केही वडा जोड्ने मुख्य राजमार्गको रूपमा रहेको सुनखानी–साँवा सडकखण्डको लापिलाङ खण्डमा पहिरोले सडक तानेको हो ।

पहिरोले सडक तानेपछि पालिकाका पाँच वडा हुँदै चल्ने मुख्य सडक अवरुद्ध बनेको छ । पहिरोले सुनखानी–साँवा सडकखण्डको लापिलाङमा करिब ८० मिटर सडक भासिएको छ भने १५ मिटर सडक पूर्णरूपमा चिरिएको छ । पहिरोले सडक तानेसँगै सडकभन्दा माथिल्लो बस्तीका ४५ घरपरिवार थप जोखिममा परेको वडा अध्यक्ष खड्काले बताए । पहिरोले सडक भत्काएसँगै सवारी ओहोरदोहोर र स्थानीयलाई एक गाउँदेखि अर्को गाउँ जानआउन समेत समस्या भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x