Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै

पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै


काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरानो शैलीका घर बनाइँदै छन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ ।

नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पुराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड–२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको हो । नगरको सहयोगमा स्थानीयले पूरातत्व विभागले दिएको मापदण्डअनुसारको निजी आवास निर्माण गर्नुपर्ने हुन्छ ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुगान, आवासको नक्सा पूरातत्व विभाग तथा नगरबाटै अन्तिम स्वीकृत गराउने काम गर्दै आएको छ । सम्पदामैत्री घर निर्माण गर्न परम्परागत इँटा, सुर्की, चुना, टायल वा झिँगटीको छानो, बिजोरमुखे झ्याल प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै आवास निर्माण गर्दा सटर राख्न नमिल्ने, सिमेन्ट प्रयोग गर्न नपाइने, घरको पूरै भागलाई कौसी बनाउन नपाइने, घरको उचाइ छानोसहित ३५ फिट मात्रै हुनुपर्ने मापदण्ड तोकिएको छ ।

सम्पदा शाखाका इन्जिनियर प्रदीप बस्नेतका अनुसार मापदण्डबमोजिम आवास निर्माण गर्नेलाई प्रोत्साहनबापत एक वर्षमा चरणबद्धरुपमा २९ स्थानीयलाई ८४ लाख ६३ हजार तीन सय ३० प्रदान गरिएको छ । नगरपालिकाले घरको बाहिरी आवरण, सार्वजनिक सडक, गल्ली, चोकबाट अगाडि मोहडाको प्रतिवर्गफिट पाँच सयका दरले प्रोत्साहनबापत सहयोग उपलब्ध गराउँदै आएको हो ।

‘विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेकाले संरक्षित क्षेत्र ऐतिहासिक सहर पनौतीमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्सहानस्वरुप गत आर्थिक वर्षदेखि नै आर्थिक सहयोग दिन थालेका हौँ’, अधिकारीले भने । उनका अनुसार विभागले तोकेको पुरानो शैलीका घर बनाउँदा हाल महँगो पर्ने भएकाले पुरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो ।

नगरपालिकाले प्रतिघर ९९ हजारदेखि तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गर्दै आएको जनायो । प्रोत्साहन रकम दिन थालेपछि आवास पुनर्निर्माण गर्नेले पनि पुरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेको अधिकारीले बताए । उनका अनुसार ७३ परिवारले नै पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेस गरेका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x