Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकले ब्याज बढाउँदा व्यवसाय धराशायी

बैंकले ब्याज बढाउँदा व्यवसाय धराशायी


चितवन । बैंकले ब्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धराशायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको ब्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वध्यक्षसमेत रहेका घिमिरेले बैंकले ब्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताए । ‘व्यापार गरेर कमाएर ब्याज तिर्नसक्ने अवस्था अहिले छैन’, उनले भने । व्यावसायिकरुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकले बढाएको ब्याज दर सान्दर्भिक नभएको उनको भनाइ छ  । राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उनले बताए । सरकारले लगानीमा सहुलियत दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार अहिले जिल्लामा रहेको पर्यटन व्यवसाय धरासाही हुने अवस्थामा छ । जिल्लामा पर्यटन व्यवसायमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उनले बताए । तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धरासायी बन्दै गएको उद्योग वाणिज्य संघ चितवनका पूर्वध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताए । कोभिड सुरु भएयताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उनको भनाइ छ  । पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बैंकिङ क्षेत्रको लगानी १० देखि १२ अर्ब रुपैयाँ रहेको उनले बताए ।

‘बैंकिङ क्षेत्रले ब्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अवस्थामा पुगेको छ’, उनले भने । पोल्ट्रीको राजधानीका रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य भएको उनले जानकारी दिए ।

राज्यकोतर्फबाट बैंक ब्याजदर घटाउन पहल नहुने वा सहुलियतामा ब्याज नदिने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अवस्था आउने भट्टराईले बताए । उनले भने, ‘बैंकले मात्रै कमाउने नीतिका साथ अघि बढ्दा अन्य व्यवसायी मारमा परेका छन् ।’ राज्यले नीतिमा नै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नुपर्ने उनको भनाइ छ । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले ब्याजदरका कारण व्यवसाय धराशायी बन्दै गएको बताए ।

बैंकको असहजताले असोजपछि कतिपय व्यवसाय बन्द हुने उनको भनाइ छ । उनका अनुसार नियमनकारी निकायको उदासीनताका कारण समस्या आएको हो । राष्ट्र बैंकले पहिलाको अवस्थामा ब्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धराशायी बन्ने उनले बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले ब्याज बढाउँदा हरेक क्षेत्रको मूल्यवृद्धि भएको बताए । ब्याजदरले चालू पुँजी र लगानीको पुँजीमा समेत असर गरेकाले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x