Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुकुटेलाई पर्यटकीय हब बनाउन नगरपालिकाको चासो

सुकुटेलाई पर्यटकीय हब बनाउन नगरपालिकाको चासो


सिन्धुपाल्चोक । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा फड्को मार्दै गरेको सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई पर्यटकीय हब बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष चासो राखेको छ । राजधानी काठमाडौंबाट ६७ किलोमिटरको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउन नगरपालिकाले विशेष तयारी थालेको छ ।

उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले शुक्रबार सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । छलफलमा प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले सुकुटेले सिन्धुपाल्चोकलाई चिनाउन मद्दत गरेको बताउँदै त्यस क्षेत्रमा सञ्चालित होटल व्यावसायलाइ चौबीसै घण्टा सञ्चालन गर्न वातावरण बनाउन पहल गर्ने बताए । यस्तै बागमती प्रदेससभा सदस्य सरल सहयात्री पौडेलले अरनिको राजमार्गमा पर्ने सुकुटे बजारले पर्यटकीय र धार्मिक दुवै महत्व बोकेको उल्लेख गर्दै यो क्षेत्रमा अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके ऐतिहासिक महत्वलाइ समेत जीवित राख्न मद्दत पुग्ने बताए । अबको तीन महिनाभित्र नै सुकुटे पर्यटन गुरुयोजना बनाएर काम गर्न उनले नगरपालिकालाई सुझाव समेत दिए । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए । सुकुटे बजारलाइ अझै व्यवस्थित गर्दै पर्यटकीय हवको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उनको भनाइ थियो । पर्यटन सँगसँगै वातावरण स्वच्छ बनाउन फोहोर व्यवस्थापनमा व्यवसायीहरु पनि जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

यस्तै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानीय सरकारले बनाउने हुँदा व्यवसायीहरुले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । व्यवसायीहरुले सरकारलाई कर तिरिसकेपछि सुरक्षित र निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउने जिम्माको ग्यारेण्टी सरकारले लिनुपर्ने उनले बताए । छलफलमा व्यवसायी महेन्द्र थापाले सुकुटे आउने पर्यटकलाई कालिमाटीको तरकारी किनेर खुवाउनुपर्ने बाध्यता रहेको बताउँदै सुकुटेको पहिचानको लागि स्थानीय उत्पादनमा जोड दिन आवश्यक महसुस गरेको बताए । कुक, वेटर, लेखा व्यवस्थापनसम्बन्धी तालिम स्थानीय तहले दिएर स्थानीयस्तरमा दक्ष कर्मचारी उत्पादन गर्नुपर्नेमा समेत व्यवसायीहरुले जोड दिएका छन् । सुकुटेमा शीतभण्डार निर्माण गरी तरकारी संकलन गर्न ब्यवसायीहरुले नगरपालिकालाई सुझाव समेत दिएका छन् । यस्तै सडक बत्ती, बिजुली व्यवस्थापन, इन्टरनेट सेवादेखि सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

छलफलमा सुकुटे क्षेत्रलाई पर्यटकीय हव बनाउने उद्देश्यले तीन वर्षअगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुँदे घोषणा कोरोना भाइरसका कारण कार्यान्वयनमा समस्या परेकोले ती घोषणालाई आवश्यकताअनुसार कार्यान्वयनमा लानुपर्नेमा जोड दिइएको थियो । छलफलमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमार्फत सम्पादन गरिने योजनाहरुको कार्यविभाजन समेत गरिएको थियो । साथै छलफलको निष्कर्षलाई कार्यान्वयन गर्न सात सदस्यीय कार्यदल समेत गठन गरिएको नगरपालिका उपप्रमुख सीता थापाले बताइन् । सुकुटेमा हाइकिङ, रक क्लाइम्बिङ, स्विमिङ र सुनकोशी नदीको पानीमा डुबुल्की मारेर नुहाउन पर्यटक लोभिँदै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x