Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहिमपात नहुँदा सोलुका किसान चिन्तित हिमाल काला पहाडमा परिणत हुँदै

हिमपात नहुँदा सोलुका किसान चिन्तित हिमाल काला पहाडमा परिणत हुँदै


सोलुखुम्बु । समयमा हिमपात तथा वर्षा नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका किसानहरू चिन्तित बनेका छन् । बितेका वर्षहरूमा मंसिर/पुसमा नै हिमपात हुने जिल्लामा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा डाँडापाखा तथा हिमालहरू कालो पहाडमा परिणत हुँदैै गएको छ भने बालीनाली सुक्न थालेका छन् ।

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमिजस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । तर यसवर्ष हिउँ नपर्दा बाली सुक्न थालेको छ भने डाँडाकाँडा उजाड लाग्दा बन्दै गएको लिखुपिके गाउँपालिका ५ का कामी छिरी शेर्पाले बताए । जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिमपात भएको थियो । तर यसवर्ष माघमा समेत हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको किसान बताउँछन् । हिँमपात नहुँदा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरू सुक्दै गएको माप्यदुधकोशी गाउँपालिका ५ की हस्तकला राईले बताइन् । बितेका वर्षहरूमा मंसिर सुरु नहुँदै सोलुखुम्बुको अधिकांश डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ ।

यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । यहाँका हिमालहरू कालो पहाडमा परिणत हुँदै गएको छ भने मौसम समेत तातो हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका ३ का मिङमार शेर्पाको अनुभव छ । समयमा हिमपात नहुँदा खुम्बु क्षेत्रबाट देखिने सेताम्मे हिमालहरू समेत कालो बन्दै गएको स्थानीय ङिमा शेर्पाले बताइन् । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसम समेत तातिँदै जाँदा यहाँका नागरिकहरू अच्चमित बनेका छन् । बन जंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासहरूको उत्सर्जनलगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरू देखापरेको वातावरणविद् राजन थापाले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x