Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाका दुई स्थानीय तहले गरे भूमिको वर्गीकरण

दोलखाका दुई स्थानीय तहले गरे भूमिको वर्गीकरण


दोलखा । जिल्लाको दुईवटा स्थानीय तहले भू–उपयोग क्षेत्रको वर्गीकरण गरेका छन् । जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाले भूमिको वर्गीकरण गरेका हुन् । उक्त पालिकाहरूले स्थानीय भू–उपयोग क्षेत्र वर्गीकरण नियमावली कार्यान्वयनमा ल्याएसँगै जग्गा कित्ताकाट गर्ने बाटो समेत खुलेको छ । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्राचारबमोजिमको भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार यी दुई स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरणलाई कार्यान्वयनमा ल्याएका हुन् ।

भू–उपयोग कार्यान्वयन समितिले सरोकारवालाहरूसँग छलफल समेत गराई गाउँपालिकाभित्रको भू–बनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा आठवटै वडाको भूमिलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरेको बैतेश्वर गाउँपालिका अधिकृत रविन्द्र चौलागाईले जानकारी दिए । उनका अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्रअन्तर्गत आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वनक्षेत्र, नदी, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र गरी १० प्रकारमा भू–उपयोग क्षेत्रमा वर्गीकरण गरिएको छ । सो वर्गीकरणलाई कार्यान्वयनमा ल्याउन बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेर मालपोत कार्यालयमा पठाएको बैतेश्वर गाउँपालिका सूचना अधिकृत रोशन गिरीले जानकारी दिए ।

कार्यपालिकाले अनुमोदन गरेसँगै अब लामो समयदेखि रोकिएको गाउँपालिकाभित्र रहेका जग्गाहरूको कित्ताकाटलगायत जग्गासम्बन्धी रोकिएका सबै काम सुचारु हुनेभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वेबसाइटमार्फत एक सूचना प्रकाशन गरेको र भू–उपयोग क्षेत्र वर्गीकरणको जानकारी नापी विभाग, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद् समेतलाई पत्राचारमार्फत जानकारी गराएको गाउँपालिका नापी शाखा अमिन राजेश गिरीले जानकारी दिए ।

त्यसैगरी भीमेश्वर नगरपालिकाले भने कृषि र गैरकृषि क्षेत्रमा जग्गा छुट्याए पनि पूर्णरूपमा वर्गीकरण भने गरेको छैन । नगरपालिकाले लामोसाँघु–जिरी सडकखण्डको सडक सीमाबाट दायाँबायाँ दुई मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गरेको छ । यस्तै चरीकोट–दोलखा–सिंगटी सडकको सडक सीमाबाट दायाँबायाँ एक सय ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गरेको छ । यसैगरी भीमेश्वरले प्रादेशिक सडकहरूको दायाँबायाँ एक सय ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने भएको छ । नगरपालिकाले नगर सडकहरूको सडक सीमाबाट दायाँबायाँ एक सय मिटर गैरकृषि र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने तथा राजकुलो सीमाबाट दायाँबायाँ ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने जनाएको छ ।

नगरपालिकाले व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी–खोला–ताल–पोखरी, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रलाई वर्गीकरण नगरेको कारण भीमेश्वरको भने तत्काल कित्तकाट नहुने जिल्ला मालपोत कार्यालयका अर्जुन प्रसाद चौलागाईले बताए । वर्गीकरण गर्न बाँकी राखेको सबै काम सकेपछि मात्रै सो क्षेत्रको जग्गा कित्तकाटको बाटो खुल्ने मालपोत कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x