Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलु दुधकोशी जलविद्युत् आयोजनाले माघ महिनाभित्रै विद्युत् उत्पादन थाल्ने

सोलु दुधकोशी जलविद्युत् आयोजनाले माघ महिनाभित्रै विद्युत् उत्पादन थाल्ने


सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजनाले यही माघ महिनाभित्रमा विद्युत् उत्पादन थाल्ने भएको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजनाको टर्बाइन टेस्ट गरिएको छ ।

बाँध, सुरुङ, पेनस्टेक, विद्युत्गृहको परीक्षणपश्चात् पानीले टर्बाइन घुमाएर ‘बेट टेस्ट’ गरिएको हो । अब केही दिनमा लाइन परीक्षण गरिने आयोजनाले जनाएको छ । तिङलामा रहेको लाम्माने सबस्टेसनमा उपकरण परीक्षणपश्चात् विद्युत् उत्पादनको काम सुरु हुने साहास ऊर्जाका इन्जिनियर जेपी यादवले जानकारी दिए । यो आयोजना निजी क्षेत्रले निर्माणसम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लास्थित लाम्माने सबस्टेसनमा जोडिनेछ । विद्युत् गृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत् उत्पादन हुनेछ ।

कम्पनीका अनुसार हिउँदमा १०० दशमलव २७ गिगावाट घन्टा (१० करोड दुई लाख ७० हजार युनिट) र वर्षमा चार सय १९ दशमलव ९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित नौ बैंकले आठ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x