Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारअतिक्रमित जग्गा खाली गराउँदै महानगरपालिका

अतिक्रमित जग्गा खाली गराउँदै महानगरपालिका


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ । महानगरले आइतबार आदर्शनगरस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ ।

सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरेपछि आफैँले भत्काउन बाध्य भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पर्खाल नहटाएपछि महानगर तातेको हो ।

पालिकाका विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । शाखा प्रमुख मियाँका अनुसार महानगर क्षेत्रभित्रका पोखरी, पार्क, मठ मन्दिरलगायत क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचना बनाउनुका साथै खेतबारीका रूपमा उपभोग गर्दै आएका छन् । ‘यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै महानगरपालिकाले वर्षौँदेखि अतिक्रमणमा परेका सार्वजनिक जग्गा खोज्ने अभियानलाई तीव्रता दिएको छ’, शाखा प्रमुख मियाँले भने ।

अतिक्रमित जग्गा खोज्न, नापचाँज गर्न तथा सार्वजनिक र निजी छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ । ‘महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्’, नगरप्रमुख सिंहले भने, ‘पहिलो चरणमा प्राविधिक टोलीले वडा नं १७ र १९ मा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेका छन् ।’ उनका अनुसार दुई सातादेखि सुरु गरिएको उक्त अभियानमा हालसम्म २६ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगरले नियन्त्रणमा लिएको छ ।

‘छोटो समयमा नै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराउन हामी सफल भएका छौँ’, नगरप्रमुख सिंहले भने, ‘यस अभियानमा हामी शान्तिपूर्ण तरिकाले लागिरहेका छौँ र सबैले समन्वय पनि गरिरहनुभएको छ ।’ सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनका लागि प्रयोग गर्दै आएको खोजी गर्न महानगरको टोली नक्सा लिएर सम्भावित स्थानमा जान थालेपछि स्थानीयले सहयोग गरिरहेको उनको भनाइ थियो । टोलीले वडा नं १७ र १९ को सीमामा पर्ने कोनियाँ गाउँमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएको पाँच बिघा जग्गा नियन्त्रणमा लिएको महानगर सचिवालयका हरि पोखरेलले जानकारी दिए । उनले पहिलो चरणमा दुईवटा वडाबाट अभियान सञ्चालन गरिएको भन्दै ‘अतिक्रमित जग्गा खोजी अभियान’ क्रमशः ३२ वटै वडामा सञ्चालन गरिने बताए । ‘नियन्त्रणमा लिइएको अतिक्रमित सार्वजनिक जग्गा महानगरले नक्साङ्कन गरिरहेको छ’, उनले भने ।

‘अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि महानगरपालिकाको आदर्शनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । उक्त स्थानमा निर्माण गरिएका केही संरचना महानगरले यसअघि नै भत्काएको छ भने बाँकी संरचना हटाउन सूचना दिइएको छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने । बाँकी संरचना सूचनाका आधारमा खाली नगरे डोजर चलाइने उनको भनाइ थियो । अन्य स्थानमा पनि जग्गा अतिक्रमण गरिएको हुन सक्ने भएकाले खोजी गर्न प्राविधिकको समूह खटाएर परिचालन गरिएको बताउँदै अतिक्रमित जग्गा पाइएमा घेरा गरी संरक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरी डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको उनले बताए ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया