Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकादोलखाका ७४ वडामध्ये ४८ वटाको आफ्नै भवन

दोलखाका ७४ वडामध्ये ४८ वटाको आफ्नै भवन


दोलखा । दोलखाका नौ स्थानीय तहमा रहेका ७४ वडामध्ये ४८ वटाले आफ्नै कार्यालय भवन निर्माण गरेर सेवा दिइरहेका छन् । स्थानीय तह सञ्चालन भएको करिब छ वर्ष बितिसक्दा पनि अझै २६ वडाले आफ्नै भवन निर्माण गर्न सकेका छैनन् । निर्माण हुन नसकेका वडामा केही जग्गा अभाव तथा केहीमा विवाद रहेको बताइएको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिकाले आठै वडामा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । बैतेश्वरले तीन वर्ष अगाडि नै सबै वडा कार्यालयलाई भाडामुक्त बनाएको हो । यस्तै, उत्तरी क्षेत्रको बिगु गाउँपालिका वडा पनि भाडामुक्त भए पनि सबै वडाको आफ्नै कार्यालय भने छैनन् । पालिका अध्यक्ष सञ्जीव ओलीका अनुसार वडा नम्बर १ लामाबगरको हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भाडा तिरिदिएको छ भने भवन पनि बनाइदिन थालेको छ । वडा नम्बर २ र ३ मा कारितास नामक संस्थाले वडा कार्यालय भवन निर्माण गरिदिएको छ । बाँकी पाँच वटा वडाले सामुदायिक भवन तथा साविकको गाविस भवन प्रयोग गर्दै आएका छन् ।

कालिञ्चोक गाउँपालिकाका पाँच वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । वडा नम्बर ६ र ७ मा निर्माण भइरहेको छ । वडा नम्बर २ मा जग्गा अभावले निर्माण हुन सकेको छैन भने यो पालिका पनि अस्थायी कार्यालयबाट सञ्चालन हुँदै आएको छ । यसैगरी जिल्लाको मेलुङ गाउँपालिकाले वडा नम्बर २, ६ र ७ मा भवन निर्माण गरी वार्षिक आठ लाख रुपैयाँ बचत गरेको छ । गाउँपालिका अध्यक्ष हिरा थोकरका अनुसार वडा नम्बर १, २ र ५ ले सविकको गाविस भवन प्रयोग गरिरहेका छन् । वडा नम्बर ३ र ४ मा पनि भवन निर्माणाधीन रहेको छ । आगामी वर्ष भाडामुक्त वडा हुँदा करिब १४ लाख रुपैयाँ बचत हुने गाउँपालिकाले जनाएको छ ।

जिरी नगरपालिकाका नौवटै वडा कार्यालय भवनहरू निर्माण भइसकेकाले भाडामुक्त भई छ लाख ५६ हजार रुपैयाँ बचत हुन लागेको बताइन्छ । तामाकोशी गाउँपालिकाले पनि पाँचवटा वडा कार्यालय भवन निर्माण गरी १० लाख रुपैयाँ बचाएको छ । वडा नम्बर २ र ३ मा पनि भवन निर्माणाधीन रहेकाले अर्को वर्षदेखि भाडा मुक्त भई १४ लाख रुपैयाँ वार्षिक बचत हुने पालिका अध्यक्ष प्रोणप्रताप केसीले बताए । सैलुङ गाउँपालिकाले पाँचवटा वडा कार्यालय भवन निर्माण गरी ७२ हजार रुपैयाँ बचत गर्न थालेको छ । वडा नम्बर २ र ८ मा पनि भवन निर्माण गर्ने सोच रहेकाले आगामी वर्षदेखि भाडामुक्त भई एक लाखभन्दा बढी बचत हुने देखिएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया