षडानन्द नगरपालिकाद्वारा वडास्तरमा योजना सम्झौता
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।
भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाइँले राससलाई जानकारी दिए । अभियानमार्फत १४ वटामध्ये भौगोलिक रुपमा अति नै विकट रहेका नौवटा वडामा अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेको उनको भनाइ छ ।
अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैङ्कसम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत चापागाईंले बताए ।
“अभियानमार्फत भौगोलिक रुपमा विकट रहेका स्थानका वडा–वडाबाट योजना सम्झौता गरेका छौँ,” उनले भने, “योजना सम्झौता गर्न आउँदा, जाँदा बढी समयसँगै खर्च हुने भएकाले अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेका हौँ । अभिमुखीकरण कार्यक्रम गरिएको हुनाले योजनाको गुणस्तरीयतासमेत बढ्छ भन्ने अपेक्षा लिएका छौँ ।”
नगरपालिकाबाट सञ्चालन हुने योजनालाई आगामी वैशाख महिनाभित्र नै सक्ने लक्ष्यका साथ काम अघि बढाएको प्रशासकीय अधिकृत चापागाईंले बताए । त्यसका लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयको पाटोलाई कडाइका साथ अघि बढाउने उनको भनाइ छ । “योजनाको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ,” उनले भने, “हामीले सम्झौताका क्रममा नै यो विषयमा उपभोक्ता समितिलाई सजक गराएका छौँ ।”
नगरपालिकाको सेवा वडाबाट सञ्चालन हुँदा स्थानीयलाई सहज भएको वडा नं १० का अध्यक्ष पेमदोर्ची शेर्पाले बताए । उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामका लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । “हाम्रो वडाबाट नगरपालिका केन्द्र पुग्न धेरै समय लाग्छ,” वडाध्यक्ष शेर्पाले भने, “स्थानीयले सहज सेवाको माग गरिरहेका थिए । वडाबाट सेवा दिन पाउँदा खुशी लागेको छ । यसले स्थानीयलाई धेरै सहज भएको छ ।”
भौगोलिक विकटताका कारण नगरपालिका केन्द्र दिङ्लासम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट सेवा प्रदान गरिएको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए । स्थानीयलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ । भावी दिनमा समेत नगरको सेवालाई थप सहज बनाउने लक्ष्य रहेको प्रमुख उदासले बताए ।
“हाम्रा धेरै वडाहरु दुर्गम क्षेत्रमा पर्छन्,” उनले भने, “जसको कारण स्थानीयलाई धेरै सास्ती भोग्नुपर्ने अवस्था छ । जनताका समस्यालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरेर सेवा प्रदान गरेका हौँ । जनतालाई दिने सेवालाई सहज र सरल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया