Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाबैतेश्वरमा ९९ प्रतिशत योजना सम्पन्न

बैतेश्वरमा ९९ प्रतिशत योजना सम्पन्न


दोलखा । बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षको झण्डै शतप्रतिशत योजना सम्पन्न गरेको छ । गाउँपालिकाले बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै पालिकामा सञ्चालनमा रहेका ९९ दशमलव ४१ प्रतिशत योजनाको काम सम्पन्न भएको जानकारी दिएको छ ।

पालिकाले चालू आर्थिक २०८०/८१ मा वडा नम्बर–१ देखि ८ सम्म एक सय ७२ वटा योजना वितरण गरेको थियो । बजेट अभावले वडा नम्बर–७ को एउटा योजनाबाहेक अन्य वडाको शतप्रतिशत योजना सम्पन्न भएको गाउँपालिकाका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले जानकारी दिए । उनका अनुसार पालिकाले चालू आवमा सडक ३४ वटा र एक मिटर चौडाइ भएको सिडीसहितको ८० वटा गोरेटो निर्माण सम्पन्न गरेको छ । वैतेश्वरमा हालसम्म २५ किलोमिटर पक्की गोरेटो बाटो निर्माण भएको छ । त्यसैगरी भवन नौ वटा, मन्दिर तथा गुम्बा १२ वटा, खानेपानी योजना आठ वटा, सिँचाइ योजना सात वटा र अन्य खेल मैदान, घाट निर्माण सरसफाइ तथा ढल निर्माणतर्फ ३१ वटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाले हालसम्म ५८ वटा कानुन निर्माण गरेको छ । चालू वर्ष थप पाँच वटा कानुन निर्माण गरेको छ । यस्तै, तीन वटा ऐन निर्माण प्रक्रियामा रहेका छन् । यस्तै, न्यायिक समितिमार्फत पाँच वटा उजुरी तथा मुद्दालाई मिलाएको जनाइएको छ । १४ वटा उजुरीमध्ये पाँच वटा प्रक्रियामा रहेको र पाँच वटा अदालत पठाएको पालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

सुशासनतर्फ बैतेश्वर गाउँपालिकाले उपलब्धि हासिल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए । बैतेश्वरले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा ७५ दशमलव ५५ प्रतिशत अंक प्राप्त गरेको छ । वित्तीय जोखिम मूल्याङ्कनतर्फ ६६ दशमलव छ अंक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा ६० दशमलव ६३ प्रतिशत अंक प्राप्त गर्दै दोलखा नौ पालिकामध्ये जिल्लाकै प्रथम पालिका भएको जनाइएको छ ।

गाउँपालिकाको चालू वर्षको आयव्ययतर्फ ५३ करोड ९३ लाख ६२ हजार ९६ रहेकोमा हालसम्म खर्च ४५ करोड ४१ लाख ६७ हजार एक सय ३९ रुपैयाँ खर्च भइसकेको जनाएको छ । गाउँपालिकामा मौज्जाद आठ करोड ५१ लाख ९४ हजार पाँच सय ५६ रुपैयाँ रहेको र चालू वर्ष अन्तिमसम्म सबै भुक्तानी हुँदा वित्तीय प्रगति बढ्ने गाउँपालिकाले जनाएको छ । हाल वित्तीय प्रगति ८४.२ प्रतिशत रहेको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x