Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाधुलिखेल नगरपालिकाको सीपमूलक तालिमपछि रोजगारी

धुलिखेल नगरपालिकाको सीपमूलक तालिमपछि रोजगारी


काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौंका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको हो ।

रोजगार सेवा केन्द्रद्वारा वेटर/वेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपछि उक्त संख्यामा रोजगार प्रदान गरिएको जनाइएको छ । भक्तपुरको ग्लोबल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजम टेक्निकल सेन्टरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना व्यक्तिलाई तालिमपश्चात रोजगारीका लागि भक्तपुरको सुमेरु र काठमाडौंको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको नगर रोजगार संयोजक सम्झना नेपालले बताइन् । तालिमप्राप्त व्यक्तिले घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा संघसंस्थामा अवसर उपलब्ध भइसकेको र नगरभित्र रोजगार चाहनेलाई पर्यटकीय स्थल धुलिखेलको स्थानीय सेवा प्रदायक संस्थाहरूसँग समन्वय गर्ने कार्य भइरहेको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्य लिएको हो ।

यस्तै नगरले वेटर÷वेट्रेसका लागि २५ वर्ष उमेरभित्रका युवा तथा सबै उमेर समूहका लागि हाउसकिपिङका लागि तालिम प्रदान गर्दै आएको जनाएको छ । नगरले बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराएको थियो । यसैबीच नगरले परिषद्द्वारा हालसम्म एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको जनाएको छ । हालसम्म सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त संख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताए ।

‘सीप सिकेर उद्यम गर्छु भन्नेहरूका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ’, उनले भने, ‘बेरोजगारी घटाउन रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ ।’

उनका अनुसार उद्यमशीलतासहितको सीपमूलक तालिम र सशक्तीकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ । युवा परिषद्मार्फत चालू आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिबी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तीकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले फरक–फरक तालिम आयोजना गरेको बताए । उनका अनुसार आधारभूत तालिमपछि ‘एड्भान्स’ तालिमको पनि तयारी गरिएको छ ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x