Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचाररुपन्देहीका तीन पालिका अझै भाडाकै घरमा

रुपन्देहीका तीन पालिका अझै भाडाकै घरमा


बुटवल । रुपन्देहीका तीन वटा पालिकाहरू संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि अझै भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० वटा गाउँपालिकाहरू रहेका छन् । तीमध्ये तीन वटा पालिकाले अझै आफ्नो लागि प्रशासकीय भवन निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

यस्तै, ओमसतिया गाउँपालिकाले टिन भए पनि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ भने अन्य १२ वटा पालिकाहरूले सुविधा सम्पन्न प्रशासकीय भवनहरूबाट सेवा प्रवाह गरेका छन् । आफ्नै प्रशासकीय भवन बनाउन नसक्ने तीन पालिकाहरू लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् । पालिकाहरूको प्रशासकीय भवन निर्माण संघीय सरकार र स्थानीय तहको लागत हुने व्यवस्था छ । प्रशासकीय भवन निर्माण सरकारको उच्च प्राथमितामा रहेको भए पनि रुपन्देहीका तीन पालिकाहरूले विविध कारणले गर्दा भवन निर्माणमा ढिला हुन गएको बताउने गरेका छन् ।

भाडाको घरबाट सर्दैसर्दै सेवा प्रवाह गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली अझै दुई वर्ष भाडाकै घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनका अनुसार ५३ करोड रुपैयाँमा वडा नं ३ को लंकापुरमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण हुँदैछ । भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको र निर्माण कम्पनीले तोकिएकै समयमा काम सम्पन्न गरिदिए दुई वर्षमा भवन निर्माण कार्यले पूर्णता पाउने ज्ञवालीले बताए ।

मर्चवारी गाउँपालिकाको भवन निर्माण कार्य पनि प्रक्रियामा गएको छ । तर कहिले प्रक्रिया सकिएर भवन निर्माण कार्य सुरु हुन्छ भन्ने यकिन भन्न सक्ने अवस्था नरहेको पालिकाले जनाएको छ । पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न खोजिरहेको भए पनि प्रक्रियागत कारणले रोकिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले पहिले सुरुसुरुमा जग्गा खोज्दा समय लागेको र हाल पालिकाको नाममा जग्गा आउन नसक्दा समय लागेको बताए । जग्गा प्राप्तिको आवश्यक प्रक्रियाका लागि मालपोत कार्यालय मझगवा हुँदै अहिले पालिकाको भवन निर्माणका लागि आवश्यक फाइल मन्त्रालयसम्म पुगेको उनले जानकारी दिए । मन्त्रालयबाट स्वीकृत भएर आएलगत्तै निर्माण कार्य थालिने उनले बताए ।

रोहिणी गाउँपालिकाले पनि आफ्नै विविध समस्याको कारण समयमै पालिका भवन निर्माण गर्न सकेको छैन । सुरुमा उपयुक्त र सेन्टर मिल्ने ठाउँमा जग्गा नपाएर जग्गा खोज्दै हिँडेको पालिकाले जग्गा पाएपछि पनि केही समय जग्गा प्राप्ति हुन नसक्दा भवन निर्माण कार्य गर्न नसकेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले हाल सबै समस्याको हल गरी पालिकाको प्रशासकीय भवन निर्माण थालिएको बताए । प्रमुख प्रशासकीय अधिकृत चौधरीले हालसम्म भवन निर्माणको कार्य ५५ प्रतिशत जति सकिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने योजनामा पालिका रहेको छ ।


क्याटेगोरी : पालिका समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x