Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाआमासमूहलाई नगद एक-एक लाखको पुँजी

आमासमूहलाई नगद एक-एक लाखको पुँजी


सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १६ आमासमूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नगरपालिकाले नियमित बचत गर्दै आएको समूहलाई नगद एक/एक लाखका दरले बीउ पुँजी रकम प्रदान गरेको हो । नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले शनिबार एक कार्यक्रमका बीच बीउ पुँजीबापतको रकम हस्तान्त्रण गरेका थिए ।

आमालाई आम्दानीमूलक क्षेत्रमा लगानी गरेर आयआर्जनमा टेवा पु-याउने लक्ष्यका साथ बीउ पुँजी कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख विमला राईले बताइन् । नगरपालिकाले माग गरेको आवेदनअनुसार छनोट भएका १६ आमासमूहलाई शनिबार बीउ पुँजीबापतको रकम प्रदान गरेसँगै हालसम्म बीउ पुँजीको रकम लिने आमासमूहको संख्या ५० वटा पुगेको छ । नगरप्रमुख राईका अनुसार आमासमूहमा भइरहेको नियमित बचत कोषमा नगरपालिकाले उपलव्ध गराएको एक लाख रकम पनि जम्मा हुनेछ । उक्त रकमबाट बाख्रा, बंगुर, कुखुरापालन, तरकारी खेतीलगायत व्यवसाय सञ्चालनका लागि समूहभित्रका महिलालाई प्राथमिकतामा राखेर सहुलियत ब्याजदरमा ऋण लगानी गरिने छ । समूहबाट ऋण लिने व्यक्तिले ९ देखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण फिर्ता गर्नुपर्ने कार्यविधि रहेको नगर प्रमुख राईले बताइन् । आमासमूहले ऋण लगानी गर्दा बैंकको ब्याजदरभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

केही वर्षअघिदेखि नै आमासमूहलाई बीउ पुँजी रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको हो । बीउ पुँजी कार्यक्रम महिलाहरूलाई घर खर्च टार्ने बलियो माध्यम बनिरहेको नगर प्रमुख राईको भनाइ छ । ‘नगरपालिकाले दिएको बीउ पुँजी रकमबाट आमासमूहका महिलाहरूले पालैपालो सहुलियत ब्याजदरमा ऋण लगेर विभिन्न व्यवसाय गरिरहेका छन् । नगरप्रमुख राईले भनिन्, ‘हामीले दिएको रकम लगानी गरेर आमादिदीबहिनीहरूले व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ । जसले गर्दा उहाँहरूको घर खर्च टरेको छ ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया