Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारविराटनगर महानगरले अनावश्यक कर थोपरेको आरोप

विराटनगर महानगरले अनावश्यक कर थोपरेको आरोप


विराटनगर । विराटनगर महानगरपालिकाले करको दायरा बढाउने नाममा अनावश्यक कर थोपरेको उद्योगी व्यवसायीले आरोप लगाएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि महानगरले ल्याएको बजेटमार्फत् अनावश्यक कर थोपरिएको उनीहरूको गुनासो छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले करको दायरा बढाउने तर विगतमा असुुल गरिँदै आएको कर घटाउने बाचा गरे पनि सोअनुसार नभएको व्यवसायीको भनाइ छ । महानगरले आन्तरिक आम्दानी बढाउन आगामी आर्थिक वर्षका लागि करका दर र दायरामा वृद्धि गरेको छ । महानगरकी उपप्रमुख शिल्पा कार्कीले गत आइतबार सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रबाट पनि कर संकलन गर्ने उल्लेख गरिएको छ । महानगरले करको दायरा बढाउँदै पत्रकारिता तथा सञ्चारसँग सम्बन्धित विभिन्न क्षेत्रबाट कर उठाउने नयाँ नीति ल्याएको छ । तर चालू आर्थिक वर्षको आर्थिक ऐनमा सञ्चार क्षेत्रलाई कर तोकिएको थिएन । अब करसम्बन्धी नयाँ नीतिअनुसार महानगरभित्र सञ्चालित पत्रपत्रिका, एफएम रेडियो, रेकर्डिङ स्टुडियो, फिल्म मेकिङ तथा एड्भरटाइजिङ स्टुडियो, अनलाइन सेवा, टेलिभिजनका मुख्य तथा शाखा कार्यालयले समेत अनिवार्य कर बुझाउनु पर्नेछ ।

पत्रपत्रिकाका प्रकाशकले ‘क’ वर्गको भए वार्षिक पाँच हजार, ‘ख’ वर्गको भए तीन हजार र ‘ग’ वर्गको भए दुई हजार कर बुझाउनुपर्नेछ । त्यसैगरी टेलिभिजन मुख्य कार्यालय भए वार्षिक २० हजार र शाखा कार्यालय भए १० हजार तिर्नुपर्ने व्यवस्था भएको छ । एफएमले वार्षिक १० हजार कर तिर्नुपर्ने प्रावधान गरिएको छ । रेकर्डिङ स्टुडियो ‘क’ ले १५ हजार, ‘ख’ वर्गले १० र ‘ग’ वर्गले सात हजार, फिल्म मेकिङ तथा एड्भरटाइजिङ स्टुडियो सबै श्रेणीले १० हजार कर तिर्नुपर्ने व्यवस्था गरिएको छ भने अनलाइन सेवाले वार्षिक १० हजार कर बुझाउनुपर्नेछ ।

स्थानीय सरकारका नाममा महागनरले उठाउने करमध्ये विधेयकमा उल्लेख भएका ३२ करका शीर्षकमा थप १४ नयाँ करका शीर्षक थपिएका छन् । चालू आर्थिक वर्ष महानगरले एक अर्ब आन्तरिक आम्दानी गर्ने लक्ष्य राख्दा असारको पहिलो सातासम्ममा ५३ करोड मात्र आम्दानी गरेको छ । त्यस अवधिमा महानगरले ६३ करोडभन्दा बढी प्रशासनिक खर्च गरेको छ । चालू वर्ष लक्ष्यको आधामात्र आन्तरिक आम्दानी गरेको विराटनगर महानगरले आगामी वर्ष पनि ९९ करोड ५० लाख आन्तरिक आय गर्ने लक्ष्य राखेको छ । महानगरले आगामी वर्षका लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

यस्तै, चालू वर्ष घोषणा गरिएको तीन अर्ब ७३ करोड ७५ लाख बजेटलाई संशोधन गरेर चार अर्ब १७ करोड नौ लाख ९८ हजार पु-याइएको छ । चालू आवमा आय दुई अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ पैसा भएको छ भने खर्च दुई अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँ भएको महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी चालू वर्ष पुँजीगत खर्चतर्फ कुल व्यय दुई अर्ब २७ करोड ७८ लाख २८ हजार नौ सय रुपैयाँ अनुमान गरिएकोमा ९० करोड १९ लाख छ हजार छ सय ७८ रुपैयाँ मात्र खर्च भएको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया