Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमहानगरछवटा महानगरको बजेट साढे ५३ अर्ब

छवटा महानगरको बजेट साढे ५३ अर्ब


छवटा महानगरपालिकासहित अधिकांश स्थानीय तहले सोमबार आगामी आर्थिक वर्ष २०८१÷८२ कोे बजेट सार्वजनिक गरेका छन् । छवटा महानगरपालिकाको कुल बजेट साढे ५३ अर्ब रुपैयाँ छ । सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाको छ । स्थानीय तहले संघीय, प्रदेश र स्थानीय स्रोतका आधारमा बजेट ल्याएका हुन् । संघीय र प्रदेश सरकारले यसअघि नै बजेट ल्याइसकेका छन् । अधिकांश पालिकाले पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्  ।

संघ, प्रदेश र स्थानीय तहले तोकिएको समयभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था छ । जसअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । संघ र प्रदेशले आफ्नो बजेट सयममै ल्याएका छन् भने अधिकांश स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुरूप सोमबार बजेट सार्वजनिक गरेका छन् ।

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले यस आर्थिक वर्षको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । महानगरले आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड नौ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

ललितपुर महानगरपालिकाको बजेट सात अर्ब ४६ करोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षका लागि छ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा प्रस्तुत गरेको आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढेको छ । महानगरले चालूतर्फ दुई अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि महानगरले दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्च विनियोजन गरेको थियो । विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ताबापत थप १५ करोड विनियोजन भएको छ । यस्तै, अन्य प्रशासनिक खर्चतर्फका पारिश्रमिकलगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालू खर्चतर्फ गतवर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ । अर्थात् यो रकम चालू वर्षको तुलना ११ प्रतिशत बढी हो । पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि चार अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको जानकारी दिइन् ।

चालू आर्थिक वर्षमा पुँजीगत खर्च चार अर्ब २१ लाख ४६ हजार विनियोजन भएकोमा बहुवर्षीय तथा अधुरा योजनाहरूको भुक्तानी र पूर्वाधार विकासका लागि थप खर्च हुने आकलन गरी गतवर्षको भन्दा करिब ६८ करोड रकम पुँजीगत खर्चमा थप हुनेगरी प्रस्ताव गरिएको छ । अर्थात् यो रकम चालू वर्षको तुलना १७ प्रतिशत बढी हो 

पोखरा महानगरपालिकाको बजेट साढे सात अर्ब

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे सात अर्बको बजेट ल्याएको छ । आगामी वर्ष कार्यान्वयन हुनेगरी उपमेयर मन्जुदेवी गुरुङले सात अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढी हो ।पोखराले चालू आर्थिक वर्षमा सात अर्ब आठ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले चार अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले नौ करोड ६३ लाख अनुदान दिने बजेटमा उल्लेख छ ।

पोखराले एक अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । संघ सरकारले राजस्व बाँडफाँटमार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने प्रदेशले राजस्व बाँडफाँटमा नौ करोड ७२ लाख दिनेछ ।स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १२ करोड र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान महानगरले गरेको छ ।

भरतपुर महानगरपालिकाको बजेट साढे छ अर्ब

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि छ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सोमबार भएको नगरसभा तथा १५औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको उक्त बजेट ल्याउन लागिएको उपमेयर चित्रसेन अधिकारीले बताए ।

महानगरले घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय एक अर्ब ८० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब चार करोड ६३ लाख ३१ हजार रुपैयाँ, संघ राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख रुपैयाँ, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार रुपैयाँ, जनसहभागिता÷श्रमदानबाट ५० करोड रुपैयाँ आम्दानी हुने आकलन गरेको छ । बैंक मौज्दात एक अर्ब ६० करोड रुपैयाँ, सडक बोर्ड नेपालबाट प्राप्त हुने तीन करोड रुपैयाँसमेतलाई आधार मानेर बजेट प्रस्ताव गरिएको उनले बताए ।

चालू आर्थिक वर्षको लागि छ अर्ब ४८ करोड ७९ लाख ९० हजार (पूरक बजेट तथा असार पहिलो हप्तासम्मको थप अख्तियारी समेत) अनुमान गरिएकोमा चालूतर्फ दुई अर्ब ७२ करोड १४ लाख ६४ हजार विनियोजन गरिएको थियो । असार पहिलो हप्तासम्ममा चालूतर्फ एक अर्ब ९३ करोड ६८ लाख ४६ हजार अर्थात् ७१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ तीन अर्ब ७६ करोड ६५ लाख २६ हजार विनियोजन भएकोमा एक अर्ब ३४ करोड ८५ लाख ७९ हजार अर्थात् ३६ प्रतिशत खर्च भएको छ ।महानगरले वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न न्यूनतम र सूत्रका आधारमा दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेको छ । न्यूनतम दुई करोड ७४ लाख २८ हजार पाँच सय एक र अधिकतम दुई करोड ९० लाख दुई हजार एक सय ३३ गरी वडास्तरीय आयोजनाहरूमा ८२ करोड रुपैयाँ विनियोजन गरिएको मेयर रेनु दाहालले बताइन् । उनले महानगरपालिकाका ठूला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं संघीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदानअन्तर्गतका योजनाहरूको कार्यान्वयन गर्नको लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याइने बताइन् । मेयर विपन्न आवास कार्यक्रम सञ्चालन गर्न, महानगरभित्र सार्वजनिक शौचालयहरू निर्माण, फाउन्डेसनसहितको मेसजाली निर्माण, हरियालीसहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा–एक खुला व्यायमशालालगायतका सहरी सौन्दर्य र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वय गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताइन् ।

विराटनगर महानगरपालिकाको बजेट साढे तीन अर्ब
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि तीन अर्ब ४९ करोड ९८ लाख रुपयाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ । महानगरको सभा कक्षमा सोमबार आयोजना भएको १४औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले महानगरको नीति तथा कार्यक्रम र वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले प्रस्तुत गरेको विनियोजन विधेयकमा चालू र पुँजीगततर्फ तीन अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुर्पयाँ विनियोजन गरेको छ । यस्तैगरी वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपैयाँ विनियोजन गरी तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । वार्षिक खर्च अनुमानका लागि संघीय र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८३ करोड ६९ लाख २९ हजार रुपैयाँ, आन्तरिक राजस्वबाट, एक अर्ब १० करोड ८६ लाख ८५ हजार रुपैयाँ, चालू वर्षको मौज्दातबाट २५ करोड रुपैयाँ, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विशेष, ससर्त, समपूरक अनुदानबाट ८९ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ । महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा ५९ करोड, ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि पाँच करोड, चालू खर्चतर्फको दायित्व भुक्तानी गर्न तीन करोड ३४ लाख ८३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । महानगरले बहुवर्षीय ठेक्का तथा गौरवका आयोजनाहरूको सरिआएको दायित्व भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रमका लागि पाँच करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै संरचना मर्मतसम्भार गर्न १० करोड रुपैयाँ र भारी सवारीसाधन खरिद गर्नका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले सामाजिक विकासतर्फ ७८ करोड ७८ लाख रुपैयाँ, स्वास्थ्यतर्फ २० करोड ५७ लाख रुपैयाँ, महिला लक्षित कार्यक्रमका लागि ९९ लाख ५७ हजार रुपैयाँ, संघसंस्थातर्फ दुई करोड ७० लाख रुपैयाँ, लक्षित वर्ग कार्यक्रमका लागि ६२ लाख रुपैयाँ, बालबालिका लक्षित कार्यक्रमका लागि ७० लाख ८० हजार रुपैयाँ र युवा विकास कार्यक्रमका लागि ९५ लाख ८४ हजार रुपैयाँ, खेलकुद विकास कार्यक्रमका लागि एक करोड आठ लाख रुपैयाँ विनियोजन गरेको छ ।

वीरगन्ज महानगरको बजेट दुई अर्ब ८९ करोड
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ  । शनिबार आयोजित १५औँ नगरसभामार्फत उपप्रमुख इम्तियाज आलमले ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा ६२ करोड रुपैयाँ घटेर आएको छ । चालू आर्थिक वर्षमा महानगरको बजेट संशोधनसहित तीन अर्ब ५१ करोड रुपैयाँ छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरु भएको नगरसभामा उपप्रमुख आलमले चालू आर्थिक वर्षमा समानीकरण अनुदान रकम २५ प्रतिशत रोक्का रहेको, घरजग्गा कारोबारमा आएको मन्दीलगायतका कारण आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनुपरेको बताए ।

प्रदेश सरकारबाट ससर्त अनुदान र विशेष अनुदानका रूपमा थप अनुदान प्राप्त हुन नसक्दा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरूप हुन नसकेको उनले बताए । बजेटमा चालू खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरले खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च बेहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एक सय ४६ वटा स्थानीय तहले बजेट पेस गर्दा छ सय सातवटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।


क्याटेगोरी : महानगर
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x