Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाबाँदर रुग्न दिन पालो लगाउँदै स्थानीय !

बाँदर रुग्न दिन पालो लगाउँदै स्थानीय !


दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकामा पछिल्लो समय बाँदर आतंक बढेपछि स्थानीय हैरान भएका छन् । पालिकाको वडा नम्बर २, ३, ७ का स्थानीयलाई हिजोआज जंगली जनावर बाँदरबाट पाक्ने बेलाको मकै जोगाउन मुस्किल परेको छ । मुख्यगरी वैतेश्वर–७ को ठोट्नेरी, कान्ले, पात्ले, सल्लेरी, बालचौर, ढाडास्वारा, बेत्तानेलगायत बस्तीमा बाँदर आतंक बढेपछि यहाँका स्थानीयले दिन पालो गरेर बाँदर रुग्ने गरेको स्थानीय चन्द्रबहादुर कार्कीले बताए ।

एक दुई सयको हुलमा दैनिक बाँदर बारीमा पसेर पाक्ने तरखरमा रहेको मकै सखाप पारेको उनको गुनासो छ । हाल गाउँमा बाँदर धपाउन तथा बाली रुग्न दिनपालो सिस्टम राखेको उनले सुनाए । मकै खान बाँदर साउन पहिलो सातादेखि नै बारी पस्न थालेका थिए । बाँदर लखेट्न कुकुरसहित आफूहरूले पालो गर्ने गरेको स्थानीय मसली मिजारले बताइन् । गाउँको तल्लो भेगका खेतबारी बाँझो बस्न थालेपछि खाना खोज्दै माथिल्लो भेगमा आउने गरेको उनले जानकारी दिइन् । यस्तै, यहाँका स्थानीयले सोमबार बाँदर नियन्त्रण गर्न सहयोग माग्दै गाउँपालिकामा सामूहिक निवेदन दिएका छन् ।

उनीहरूले वर्षभरि दुःख गरेर लगाइएको मकैबाली पाक्न नपाई बारीमै सखाप परेपछि बाँदर नियन्त्रण गर्न पालिका तथा वडाको सहयोग चाहिएको स्थानीय राजन मिजारले बताए । बाँदरले अन्नबाली त सखाप पारिसकेको छ भने साना बालबालिकालाई समेत हिँड्न दिएका छैनन् । यस्तै, पालिकाको मिर्गे खतिवडा टोल, पात्ले, खरीस्वारा, मुलाबारी टार क्षेत्रका स्थानीय पनि बाँदरका कारण हैरान छन् । यहाँका स्थानीयलाई बाँदरले मात्रै हैन रातिको समयमा जंगल क्षेत्रबाट आउने दुम्सी, मिर्गले समेत दुःख दिने गरेका छन् । यहाँका स्थानीय भन्छन्, ‘बाँदर मारेमा कानुनी कारबाही हुने डर छ ।’ राज्यले बाँदर नियन्त्रण गर्ने कानुन निर्माण नगरेकै कारण स्थानीय सरकार र प्रशासनको शरणमा आफूहरू आएको ठोट्नेरीकै स्थानीय दीपक मिजारले बताए । बाँदर मार्नेको पहिचान भए छ महिनादेखि दुई वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेकाले पनि स्थानीय कृषकहरू बाँदरलाई केही गर्न सक्ने अवस्थामा छैनन् ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x