स्वर्णिम वाग्लेले कांग्रेस छोड्दा दिए यस्तो कारण
काठमाडौं,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टीबाट अलग हुने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश लेख्दै उनले विक्रम सम्वत २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन्।
त्यसअघि उनले नेपाली कांग्रेसका केही नेताहरूलाई एसएमएस सन्देश पठाउँदै पार्टी छाड्न लागेको जानकारी दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना नेताले अनौपचारिक रूपमा वाग्ले आफ्नो दलमा आउने बताए पनि सार्वजनिक रूपमा टिप्पणी गर्न चाहेनन्।
वाग्लेले के भनेका छन्?
आफ्नो फेसबुक सन्देशमा उनले २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलन देखिको आफ्नो संलग्नता एवं पाँच दशक लामो पारिवारिक विरासत रहेको पार्टीबाट अलग हुने निर्णय लिएको जनाएका छन्।
उनले उक्त पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।”
उनले थपेका छन्, “अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।”
सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै आफू “आम नैराश्य चिरेर देश बनाउने” आशा जगाउने र त्यसका निम्ति लागिपर्ने उनले लेखेका छन्।
कांग्रेस नेताका प्रतिक्रिया
पार्टी सभापति शेरबहादुर देउवा निकट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले उनलाई दिएको सम्मानलाई वाग्लेले ठेस पुर्याएको प्रतिक्रिया दिइन्।
उनले भनिन्, “पार्टी नै छाडेर जानेलाई मलाई भन्नु केही छैन। तर उहाँलाई पार्टीबाट अहिलेसम्म जुन सम्मान गरिएको थियो, त्यसको अपमान गरेकोमा दु:ख लागेको छ।”
कांग्रेसको अर्का नेता तथा सांसद प्रदीप पौडेलले भने दलकोतर्फबाट पनि कमजोरी भएको टिप्पणी गरे। तर त्यसको समाधान वाग्लेले कांग्रेसभित्रै खोज्नु उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको उनले बताए।
उनी भन्छन्, “उहाँसँग जुन क्षमता थियो त्यस अनुसारको अवसर दिने परिस्थिति नबनेको सन्दर्भ पछिल्लो समयमा आएकै हो। पार्टीभित्र धेरै ठूलो पङ्क्तिले अवसर नपाएको परिस्थिति छ।”
उनले थपे, “हामीले त्यसमा सच्च्याउनुपर्ने थुप्रै विषयहरू छन्। तर पार्टी छाड्नुभन्दा त्यो सच्च्याउने अभियानलाई बुलन्द बनाउने बाटो उहाँले रोज्नुपर्थ्यो।”
कांग्रेस नेताहरूलाई पठाएका थिए एसएमएस
कांग्रेस नेता गोविन्दराज पोखरेलले वाग्लेसँग मङ्गलवार मात्रै टेलिफोनमा संवाद भएको र त्यसबेला उनले पार्टी छोड्ने कुनै सङ्केत नगरेको बताए।
“उहाँलाई हिजो फोन गर्दा चितवन हुनुहुन्थ्यो पार्टी छोड्ने कुनै छनक थिएन,” पोखरेलले भने।“बिहान हल्ला सुनेर फोन गर्दा उहाँसँग सम्पर्क हुन सकेन। पछि उहाँले ह्वाट्सएपमा सन्देश पठाउनुभयो।”
पोखरेलका अनुसार वाग्लेले आफू “कांग्रेसमा रहन नसक्ने अवस्था आएको” र “देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको” उनलाई पठाएको सन्देशमा उल्लेख गरेका छन्।
“अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समय सीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौ,” वाग्लेको सन्देश उद्धृत गर्दै पोखरेलले भने।
उनका अनुसार वाग्लेले ‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन’ फेरि पनि आफूहरू कुनै न कुनै रूपमा जोडिन सक्ने आशा व्यक्त गरेका छन्।
वाग्ले को हुन्?
वाग्ले पछिल्लो समयमा काठमाण्डूस्थित एउटा थिङ्क ट्याङ्क इन्स्टिच्युट फर इन्टिग्रेटेड डिभलपमेन्ट स्टडिज (आईआईडीएस) का अध्यक्ष रहेका थिए।
सन् २०१४ देखि सन् २०१८ सम्म सुरुमा राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षको जिम्मेवारी उनले सम्हालेका थिए।
राष्ट्रिय योजना आयोगको जिम्मेवारी सम्पन्न गरेपछि केही समय उनी ३६ वटा देश हेर्ने संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोको मूख्य आर्थिक सल्लाहकारको रूपमा जागिर खान न्यूयोर्क गएका थिए।
उनीसँग विश्व ब्याङ्क र संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रममा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।गोर्खामा जन्मिएर काठमाण्डूको बुढानीलकण्ठ स्कुल अध्ययन गरेका उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक र हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेका थिए।
उनले अस्ट्रेलियन न्याश्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।यसअघि गएको आम चुनाव लड्ने इच्छा वाग्लेले व्यक्त गरेका थिए। तर त्यसबेला उनलाई नेपाली कांग्रेसले टिकट दिएको थिएन।
बरू वाग्लेभन्दा पछि योजना आयोगका उपाध्यक्ष बनेका विश्व पौडेल राजिनामा दिएर चुनाव लड्न चितवन गएका थिए।आगामी वैशाखका लागि तय भएको उपचुनाव अघि उनले कांग्रेस छाड्ने निर्णय लिएका हुन्।(बीबीसी)
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया