Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिजनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ: महामन्त्री थापा

जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ: महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

“आवधिक निर्वाचनको विशेष महत्त्व छ, निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्”, उनले भने, “हामीले जनताको विश्वास जित्नुपर्छ ।” महामन्त्री थापाले उपनिर्वाचनमा पनि सत्तारूढ गठबन्धनबीच तालमेल भएकाले तालमेललाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “तालमेलका विषयमा विभिन्न मत छन्, मैले पार्टीभित्र पनि फरक मत राख्दै आएको हुँ, त्यसको फरक कारण छ”, उनले भने, “पार्टीभित्र फरक मत राख्न पाइन्छ, निर्णय भएपछि त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले लोकतन्त्रको संस्थागत विकासविना देश विकास हुन नसक्ने र त्यो कांग्रेसको नेतृत्वमा मात्रै सम्भव रहेको बताए । तनहुँको विकासका लागि कांग्रेसका उम्मेदवारले जित्नैपर्ने भण्डारीले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बन्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको बताए। उनले जिल्लाको खानेपानी, सडक, बिजुलीलगायतका क्षेत्रमा विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले तनहुँमा कांग्रेसको गरिमा पुनः कायम गर्नुपर्ने बताए ।

नौ जनाको उम्मेदवारी दर्ता

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा नौ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज नौ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ५ बजेसम्म समय निर्धारण गरिएको थियो । मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

बुधबार अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

राससका अनुसार अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया