Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरवि लामिछाने राहदानी प्रकरणमा कारण देखाऊ आदेश जारी

रवि लामिछाने राहदानी प्रकरणमा कारण देखाऊ आदेश जारी


काठमाडौं,नेपाली राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णयको कारण खुलाउन सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई चुनौती दिँदै युवराज पौडेलले सर्वोच्च अदालतमा सोमवार रिट निवेदन दर्ता गराएका थिए।

मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा उक्त मुद्दा परेको भए पनि सुनुवाइ भएन। सिन्हाले यसअघि संवैधानिक इजलासमा लामिछानेको नागरिकता मुद्दामा राय दिएका कारण यो मुद्दा आफूले हेर्न नमिल्ने बताएका थिए।

बुधवार उक्त रिट निवेदन न्यायाधीश हरि फुयालको इजलासमा पेस भएको थियो।”न्यायाधीश फुयालको इजलासले महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाऊ आदेश दिएको छ,” सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।
राहदानी दुरुपयोगको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालय यसअघि लामिछानेविरुद्ध मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेको ठहर गरेको थियो।

सांसद र गृहमन्त्री पद गुमाए
सञ्चारकर्मीका रूपमा चर्चा कमाएका रवि लामिछाने छुट्टै पार्टी खोल्दै यही वर्ष राजनीतिमा होमिएका हुन्। उनको दलले मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको थियो।

तर पौडेलले नै दायर गरेको रिट निवेदनमा अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।

दुई महिनामै सांसद पद गुमाएका रवि लामिछाने चितवन-२ मा हुन लागेको उपनिर्वाचनमा फेरि उम्मेदवार बनेका छन्। संसद्‌को चौथो ठूलो दलका नेता लामिछाने गृहमन्त्री समेत बनेका थिए। तर सांसद पद गुमेपछि उनले पार्टी सभापति र गृहमन्त्रीबाट समेत राजीनामा दिए।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेसँगै उनलाई पार्टी सभापतिमा फेरि चयन गरिएको थियो। तर प्रधानमन्त्रीले राहदानी मुद्दा नटुङ्गिएको कारण देखाउँदै उनलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार गरेको विवरण आएका थिए।

त्यसपछि उनको पार्टी सरकारबाट बाहिरियो। तर उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उनको पक्षमा मतदान गरेको थियो।

मुद्दामामिलामा रवि लामिछाने
लामो समय अमेरिका बसेर नेपाल फर्किएका रवि लामिछाने समयसमयमा मुद्दामामिला र विवादका कारण चर्चामा आइरहन्छन्।यसअघि न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाइरहँदा श्रमस्वीकृति नलिई नेपालमा काम गरेको उजुरी उनीविरुद्ध परेको थियो।

त्यसपछि उनले अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाली नागरिकका रूपमा स्वदेशमा रहने घोषणा गरेका थिए।एक पूर्वसहकर्मीले आत्महत्या गरेपछि लामिछानेविरुद्ध २०७६ सालमा आत्महत्या दुरुत्साहनको मुद्दा पर्‍यो।

चितवनमा आत्महत्या गरेका सालिकराम पुडासैनीले आफ्नो मोबाइल फोनमा लामिछाने सहितका सहकर्मीका कारण ‘आफू मर्न बाध्य भएको’ भन्दै खिचेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।

उक्त प्रकरणमा लामिछानेले पछि अदालतबाट सफाइ पाए।गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि लामिछानेको नागरिकता अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उनीविरुद्ध उजुरी पर्‍यो। आयोगले नागरिकताको विषय आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरीमा छानबिन गरेन।

त्यसपछि उनको नागरिकता प्रकरणको मुद्दा अदालतमा पुगेको थियो।

राहदानी मुद्दा के हो ?
अमेरिकामा लामिछानेले त्यहीँखो नागरिकता र राहदानी पनि लिएका थिए। नेपाल फर्किएको केही समयपछि अमेरिकी नागरिकता र राहदानी त्याग गरे पनि उनले केही समय दोहोरो राहदानी लिएको र प्रयोग समेत गरेको आरोप लाग्दै आएको छ।

तर लामिछानेले एकैसमयमा दोहोरो राहदानी प्रयोग नगरेको दाबी गर्दै आफ्नो नेपाली राहदानी पनि सरकारलाई फिर्ता दिएका छन्।

नेपालको कानुनअनुसार दोहोरो नागरिकताको प्रयोग गर्न पाइँदैन।(बीबीसी)


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया