Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताए ।

उनले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताए। मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महशुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री दाहालले बताए । बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताए ।

भानु जन्मस्थललाई संसारभरिका नेपाली भाषीले अध्ययन गर्ने साधना केन्द्रका रुपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने बताए। दलित, आदिवासी जनजातिको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

देवघाट ऐतिहासिक स्थल नेपालका मात्र नभई दक्षिण एशियाका लागि प्रसिद्ध रहेकाले देवघाटमा सांस्कृतिक विश्वविद्यालय बनाउनेबारेमा गम्भीर अध्ययन गरिने दाहालले विश्वास व्यक्त गर्नुभयो । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई परिवर्तनका निम्ति परिचित भएकाले उनलाई जिताएपछि मन्त्री बनाउने दाहालले घोषणा गरे ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताए। वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गोविन्द भट्टराईले प्रस्तुत गरेको सबै विकासका योजना आफूहरुले पूरा गर्नुपर्ने प्रतिबद्धता जनाए।

“तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो”, उनले भने। तनहुँमा सुविधासम्पन्न अस्पताल र केन्द्रीय विश्वविद्यालय बनाउने भट्टराईको चाहना पूरा हुने सभापति देउवाले बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजाने जनताको चाहनालाई साकार पार्न अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताए। “त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँका जनताले सही निर्णय गर्नुपर्नेछ”, नेपालले भने ।

पाँच वर्षको स्थायी सरकार कायम गर्ने प्रतिबद्धताबमोजिम अगाडि बढेको गठबन्धनले देशको विकास गर्ने नेपालको भनाइ थियो । गठबन्धनलाई बलियो बनाएर जाने सङ्कल्प लिइएको बताउँदै उनले भने , “सहमति र एकताले देश विकास गर्नेमा हामी प्रतिबद्ध छौँ, जनताको समस्या समाधानका लागि प्रतिबद्ध छौँ ।” जनताको पीडा बुझ्न नसके राजनीतिको कुनै काम नरहेको बताउँदै देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने काममा गठबन्धन सफल हुने उनले विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारलाई स्थिरता दिएर सुशासन र समृद्धिको आधार तयार गर्ने लक्ष्य लिइएको उनले बताए । भट्टराईले फेरि देशलाई अस्थिरतामा लैजाने कि स्थिर सरकार बनाउने भन्ने विषयमा जनताले सोच्नुपर्ने बताउँदै सुशासन र समृद्धिका लागि गोविन्द भट्टराईको विजय आवश्यक रहेको बताए।

“मिश्रित निर्वाचन प्रणालीले कसैको पनि बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको छ, निर्वाचन प्रणालीका कारण स्थिर सरकार बन्दैन, बल्ल बल्ल दश दल जोडेर सरकार बनाएका छौँ । अब त्यही सरकारलाई स्थिरताका दिनका लागि पनि गठबन्धनकै उम्मेदवारले जित्नुपर्छ”, उनले भने । छिटोभन्दा छिटो विकास र समृद्धिको लहर ल्याउनुपर्ने बताउँदै उहाँले युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु मुख्य चुनौती रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट तनहुँ–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले आफू तनहुँमै जन्मिएर राजनीति सुरु गरेकाले यहाँका हरेक वर्गको समस्याबारे आफू जानकार रहेको बताए । भट्टराईले पदमा नरहे पनि हरेक गाउँमा खानेपानी सुविधा पु¥याउने काम गरेको बताउँदै अब हरेक समस्या समाधानमा आफू नेतृत्व गर्न चाहेको बताए ।

जनता समाजवादी (जसपा) सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचनमा राजनीतिक र गैरराजनीतिक व्यक्तित्वबारे मूल्याङ्कन गर्ने बेला आएको बताए । राजनीतिक स्थिरता र लोकतन्त्रको संरक्षणका लागि गठबन्धनको जीत आवश्यक रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले त्याग, निष्ठा र परिश्रमले भरिएका व्यक्तित्व गोविन्द भट्टराई भएकाले उहाँको जित अनिवार्य रहेको बताए।

नेकपा (एकीकृत समाजवादी)का नेता एवं सांसद कृष्णकुमार श्रेष्ठले लोकतन्त्र र संविधान बचाउनका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे । राससका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जनतालाई भ्रममा पार्दै उम्मेदवार निर्वाचन लड्न आएकाले सचेत हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य शङ्कर भण्डारीले यो क्षेत्रको विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया