नक्कली शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दुवैले छानबिनलाई ‘सघाउने’, अनुसन्धानबारे प्रहरी के भन्छ ?
काठमाडौं,नक्कली भुटानी शरणार्थी प्रकरणमा चौतर्फी चर्को दबाव रहे पनि अनुसन्धान अगाडि बढिरहेको गृह मन्त्रालय सम्बद्ध उच्च स्रोतले जनाएको छ।
उक्त स्रोतका अनुसार “झन्डै एक साताभित्र अनुसन्धानको काम सम्पन्न गर्नेगरी” काम भइरहेको छ।”राजनीतिक दबाव तीव्र छ, तर पनि काम रोकिएको छैन,” स्रोतको दाबी छ।
भुटानी शरणार्थीको सूचीमा नक्कली मानिसहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत साता सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमझीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतवार काठमाण्डू जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका उनीहरूलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
पक्राउ पर्ने अन्यमा केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ र सागर थुलुङ राई रहेका छन्।उक्त प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका अनुसार अहिलेसम्म २० वटा उजुरी परेका छन्।
उक्त प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती तथा कांग्रेस नेत्री आरजु राणा देउवाको पनि नाम मुछिएको अडिओ सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको छ।
उक्त अडिओ प्रहरीको हातमा पनि पुगेको विवरणहरू सार्वजनिक भएका छन्। तर बीबीसीसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालले “अनुसन्धान जारी रहेको” बाहेक आफूले केही बताउन नमिल्ने जनाए।
उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी “फरार भएको” र उनको एमालेले प्रतिरक्षा गरिरहेको भन्दै आलोचना भइरहेको छ।एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले पूर्वाग्रही भएर अनुसन्धानको काम अगाडि बढाएको देखिएको बताए।
उनले भने, “यसमा एउटै मापदण्ड हुनुपर्छ। जो-जो आरोपित छन् उनीहरूलाई ल्याउनुपर्यो र पारदर्शी ढङ्गले अगाडि बढ्नुपर्यो भन्ने मात्रै हाम्रो भनाइ हो।”
उक्त प्रकरणमा कांग्रेसका तर्फबाट यसअघि गृहमन्त्री बनेका बालकृष्ण खाण पनि संलग्न रहेको भन्ने दाबी गरिएको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएकाले त्यसमाथि पनि अनुसन्धान गरिनुपर्ने उनको माग छ।
‘अनुसन्धानमा सबैले सघाउनुपर्छ’
आफ्नो पार्टीका सचिव तथा पूर्वऊर्जामन्त्री रायमाझीसहित पक्राउपुर्जी जारी भएका व्यक्तिहरूलाई प्रहरीसमक्ष उपस्थित भएर छानबिनमा सघाइदिन प्रमुख सचेतक गिरीले अनुरोध गरे।
“मेरो भनाइ त के रहन्छ भने उहाँहरू पनि यो अनुसन्धानको प्रक्रियामा सघाउनुपर्छ। कोही निर्दोष पनि फस्ने काम नहोस् र दोषीहरूले उन्मुक्ति पाउने काम नहोस्,” उनले भने।
यसका आदि अन्त्य खोजेर संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। निर्मम र कठोर बन्नुपर्छ। राज्यले सुशासनका विषयमा सरकार बलियो गरी उभियो भन्ने सन्देश दिनुपर्छ।”
यसैबीच भूतपूर्व एआईजी विज्ञानराज शर्माले बालकृष्ण खाण गृहमन्त्री हुँदा नै नक्कली भुटानी शरणार्थी प्रकरणबारे उजुरी परेको र दुईजना मान्छे पक्राउ गरिएको भन्ने विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
उनले उक्त भिडिओमा खाणले दबाव दिएर ती मानिस छुटेको दाबी गरेका छन्।
के भन्छ नेपाली कांग्रेस?
कांग्रेसका एकजना महामन्त्री विश्वप्रकाश शर्मा अहिले अनुसन्धान भइरहेकाले सबैले सघाउनुपर्ने बताए।भन्छन्, “जब राजनीतिले काम गरिरहेको हुन्छ कानुनले हेरिरहेको हुन्छ। तर कानुनले जुनबेला काम गरिरहेको हुन्छ राजनीतिले मौनता साँध्नुपर्छ। त्यसकारण अहिले अनुसन्धान भइरहेको बेला त्यसमा नामको उल्लेख नगरी त्यसलाई सघाउनु सबैको कर्तव्य नै हो,” उनले भने।
एमाले सांसदहरूले संसद्मा सत्तापक्षले केवल यो प्रकरण मात्रै नभई विगतका भ्रष्टाचारका थुप्रै मुद्दाहरूमाथि पनि बहस र छानबिन हुनुपर्ने कुरा उठाएका छन्।
आफूहरूले उठाउन खोजेको विषयबारे एमालेका प्रमुख सचेतक गिरीले भने, “देशभित्र रहेका ठूलाठूला भ्रष्टाचार प्रकरणको एकएक गरेर फाइल खोजौँ। बरु यो वर्षे अधिवेशन बजेट पारित गरिसकेपछि परसम्म लिएर जाऔँ र व्यापक ढङ्गले निरन्तर छलफल गरौँ।”
विगतमा पनि ललिता निवास प्रकरण, ३३ किलो सुन प्रकरण, वाइडबडी प्रकरणसहित विभिन्न भ्रष्टाचारका विषय उठे पनि ती विषयहरूमाथिको छानबिनले गति लिन सकेको देखिएको छैन।
राजनीतिक संरक्षण र मिलेमतोका कारण भ्रष्टाचारका ठूला मुद्दाहरू सुस्ताउने गरेको आशङ्का धेरैले गर्दै आएका छन्।(बीबीसी)
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
- मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया