Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसल्लेरीको अव्यवस्थित संरचनामा डोजर

सल्लेरीको अव्यवस्थित संरचनामा डोजर


सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अव्यवस्थित संरचनामा डोजर चलेको छ । सोलुदूधकुण्ड नगरपालिकाले बजारलाई नै कुरूप बनाएको भन्दै अव्यवस्थित संरचनामा डोजर चलाएको हो । सोलुदूधकुण्ड जिल्लाको एक मात्र नगरपालिका हो ।

वर्षाैंदेखि जीर्ण बनेका यी संरचनाले जोखिम थपेको भन्दै स्थानीयले पनि यस्ता संरचना हटाउन दबाब दिँदै आएका थिए । नयाँ बजारका स्थानीय निशा राईले बजार क्षेत्रको कतिपय संरचनाले जोखिम बढाएकाले संरचना भत्काउने काम स्वागतयोग्य रहेको बताइन् । उनले यो अभियान निरन्तर सञ्चालन गर्न नगरपालिकासँग आग्रह पनि गरिन् ।

मंगलबार सल्लेरीको आवाडाँडा क्षेत्रबाट सुरु भएको अव्यस्थित संरचना हटाउने काम बुधबार नयाँ बजार क्षेत्रमा पुगेको थियो । नयाँ बजारको मध्यभागमा वर्षौअघि निर्माण भएको फिल्म हल भत्काइएको छ । करिब ढेड दशक अघिसम्म फिल्म हलको रूपमा प्रयोग हुँदै आएको जीर्ण संरचना भत्काइएको हो । त्यसो त संरचना भत्काउने नगरपालिकाको काममा सम्बन्धित घरधनीको समेत सहयोग रहेको छ ।

नयाँ बजारमा भत्काएको चलचित्र घरका धनी रामलाल श्रेष्ठले नगरपालिकाको कामलाई अवरोध नगर्ने बताए । उनले भने, ‘नगरपालिका बनाउने दायित्व मेयरको मात्रै होइन हामी सबैको हो । हाम्रो संरचना भत्काउँदा नगरको विकास हु्न्छ भने हामीले अवरोध होइन सहयोग गर्नुपर्छ । हाम्रै सहमतिमा यो घर भत्काइएको हो ।’ भवन आफैँ भत्किएको खण्डमा मानवीय क्षति हुन सक्ने भएकाले नगरपालिकाले नै भवन भत्काएको सोलुदूधकुण्ड– ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा(फुरी)को भनाइ छ । केही दिनअघि सल्लेरी क्षेत्रको अव्यवस्थित तार हटाएको नगरपालिकाले अहिले अव्यवस्थित संरचना हटाउन सक्रिय भएको हो ।

व्यवस्थित र सुन्दर नगरपालिका बनाउने आफूहरूको अभियानमा जनताले साथ दिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाको भनाइ छ । अव्यवस्थित संरचनामा डोजर चलाउनुअघि नगरपालिकाले सूचना जारी गरेको थियो । साथै, सरोकारवालालाई पत्राचारसमेत गरिएको प्रमुख शेर्पाले जानकारी दिए । घरधनी आफैँले संरचना नहटाएपछि नगरपालिका आफैं अघि बढेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया