Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशहाट बजारमा जङ्गली च्याउको माग अधिक !

हाट बजारमा जङ्गली च्याउको माग अधिक !


सोलुखुम्बु । वर्षायाम सुरु भएसँगै जिल्लाको हाट बजारमा जंगली च्याउको माग अधिक बढेको छ । सदरमुकाम सल्लेरीको साप्ताहिक हाटमा जंगलबाट खोजेर ल्याएको च्याउ किन्नेको भिड लाग्ने गरेको छ । कतिपय उपभोक्ताहरूले च्याउ खरिदकै लागि हाटसम्म आएको बताए ।

उनीहरू वर्षौदेखि च्याउका पारखी छन् भने किसानहरूले समेत वर्षौदेखि जंगली च्याउ बिक्रीबाट वर्षात्मा राम्रो आम्दानी गरिरहेका छन् । चारकोशे झाडीबाट हिंस्रक जीवजन्तुको भय नगरी खोजेर ल्याइने च्याउ बिक्रीबाट एक सिजनमा उनीहरूको गुजारा समेत चलिरहेको हुन्छ । सल्लेरी नयाँ बजारकी कल्याणी श्रेष्ठले शनिबार लाग्ने साप्ताहिक हाटमा च्याउ किन्नकै लागि आएको बताइन् । वर्षात् सुरु भएसँगै जंगलमा पाइने च्याउको मीठो स्वादको यादले सधै आकर्षित गर्ने श्रेष्ठ बताउँछिन् । जब शनिबार लाग्छ तब उनी च्याउ खरिद गर्न हाटमा जाने गर्छिन् । यहाँको जंगलमा रातो च्याउ, मार्ते च्याउ, पहेलो च्याउ, थाक्रे च्याउ, गिद्धे च्याउ, खुट्टे च्याउलगायतका दर्जनौं प्रजातिका च्याउहरू पाइने गरेको किसानहरू बताउँछन् ।

कतिपय उपभोक्ताहरू जंगली च्याउको स्वाद भनेपछि हुरुक्कै हुन्छन् । जुन च्याउको पारखीमध्ये सल्लेरीका दुर्गाप्रसाद पुडासैनी पनि एक हुन् । उनले हरेक हप्ता साप्ताहिक हाट नयाँ बजारमा च्याउ खरिद गर्छन् भने कोसेलीको रूपमा अन्य ठाउँहरूमा समेत पठाउने पठाउने गरेका छन् । शनिबारको हाटमा मात्रै पुडासैनीले तीन हजार रुपैयाँको रातो च्याउ खरिद गरेको सुनाए । ‘यो च्याउको म खुबै पारखी हुँ । आज पनि मैले ३ हजार रुपैयाँको रातो च्याउ किने, च्याउ त उमारेको च्याउहरू पाइन्छ तर यो जंगलमा आफैँ पलाउने च्याउ असाधै मीठो हुन्छ’, उनले भने, ‘यसको स्वाद भनेपछि हुरुक्कै हुने मेरा इष्टमित्रहरू छन् काठमाडौँमा उनीहरूलाई पनि म पठाउँछु, उनीहरूलाई सोलुको च्याउ भनेपछि त के चाइयो र !’

च्याउको स्वाद मन नपर्ने सायदै कमै होलान् । तर कतिपय जंगली च्याउहरू यति धेरै विषालु हुन्छन् कि जसको सेवनले मानिसको ज्यानसमेत लिएको घटनाहरू प्रशस्तै छन् । गत शुक्रबार मात्रै ओखलढुंगाको चिशंखुगढीमा विषालु च्याउँ खाँदा एक जनाको ज्यान गयो भने एक जना सिकिस्त बिरामी बने । यस्तै शनिबार बुटवलमा विषालु च्याकै कारण ६ जना सिकिस्त बिरामी बनेका छन् । यी समाचारहरूले उपभोक्तादेखि विक्रेताहरू समेत झस्किएका छन् । च्याउ खरिद गर्ने स्थानमा समेत उपभोक्ताहरू विषालु च्याउकै कुरा गर्दै थिए । ‘कसरी चिन्ने होला खाने च्याउ ?’ भन्ने प्रश्नमा विगत ३५ वर्षदेखि जंगली च्याउ टिपेर उपभोग गर्दै आएका तामाखानीका सन्त बहादुर मगर(-याविट) भन्छन्, ‘अरू त मलाई थाहा छैन तर मेरो झण्डै ३५ वर्षको च्याउ टिपेको अनुभवमा यो विषालु च्याउको वरिपरि अन्य किराहरू हुँदैन, त्यो च्याउको विषले वरिपरिको झारपातदेखि किराहरूसमेत नष्ट गर्ने भएकाले विषालु च्याउमा किरा हुँदैन ।’

उनका अनुसार च्याउ टिप्दा विष नभएकोमा टिपेपछि रंग केही परिवर्तन हुन्छ तर विषालु च्याउ त्यस्तो हुन्न । नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइने विभिन्न अध्ययनले देखाएको छ । तीमध्ये ७४ प्रकारका च्याउमा औषधीय गुण हुन्छ । एक सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने एक सय प्रजातिका च्याउ विषालु हुने विज्ञहरू बताउँछन् । हरेक वर्ष यस सिजनमा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानाले नै ज्यान जाने गरेको तथ्यांक छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया