Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशअवैध खेल पट्काबाट दैनिक तीन करोडको कारोबार

अवैध खेल पट्काबाट दैनिक तीन करोडको कारोबार


विराटनगर । भारतमा इन्डियन प्रिमियम लिग (आईपीएल) सुरु भएसँगै अहिले विराटनगरमा अवैध जुवाजन्य फट्का (सट्टेबाज) खेल मौलाउन थालेको छ । विराटनगरमा प्रिमियम लिगको नामबाट दैनिक करोडौंको खेल हुनेगरेको पाइएको छ ।

आईपीएल, विश्वकपलगायतका खेल सुरु भएपछि विराटनगरका व्यापारी समुदायका युवाहरूले फट्का खेल सञ्चालन गरी करोडौँको कारोबार गर्नेगरेका छन् । यहाँका युवासमूहमा निकै लोकप्रिय बन्न पुगेको फट्काको सौदामा दैनिक दुईदेखि तीन करोडभन्दा माथिको कारोबार हुने गरेको स्रोतको दाबी छ । पछिल्लो समय सम्पूर्ण व्यावसायिक क्षेत्र नै आर्थिक संकटमा फसिरहेका बेला सोही घरानाका युवाहरू भने अवैध फड्का खेलमा करोडौँको जुवा खेलिरहेका छन् । विराटनगरमा कहलिएका हँसु चौरडिया (जैन) र उनका भाइ दिनेश चौरडिया (जैन)ले फाट्काको सौदा गर्नेगरेका छन् । यी दुवै सट्टेबाजहरूले दिनभरि क्रिकेटको हुने खेलका आधारमा स्थानीय व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने काम गर्ने गर्छन् ।

हाल हंसुु चौरडियाले भने अनलाइन फड्का खेलाउने गरेका छन् भने बुुकीको काममा भाइ दिनेश चौरडियालाई जिम्मा लगाएका छन् । केही वर्षअघि मोरङ प्रहरीका तात्कालीन प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले फट्काका नामुद खेलाडी रहेको भन्दै हँसु चौरडिया (जैन)लाई पक्राउ गरेका थिए । उनी पक्राउपछि केही मत्थर भएको फट्काले अहिले फेरि उग्ररूप लिन पुगेको छ । अहिले उनै जैनले बुकीको रूपमा करोडौँको दाउ चलाउँदै फाट्कालाई निरन्तरता दिन थालेका छन् ।

अवैध जुवाजन्य फाट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको छ । नेपालबाट बुकीको काम गर्नेहरूले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने गरेका छन् । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरूले फाट्काको दाउमा सट्टा लिनेगरेका छन् । पछिल्लो समय त मोबाइलबाट अनलाइन खेल खेलाउन थालेपछि झनै यसले उग्ररूप लिएको हो ।

प्रहरीस्रोतका अनुसार अवैध रहेको फाट्का खेलमा संलग्नको पहिचान गर्न समस्या भएपछि यसको धन्दामा वृद्धि हुँदै गएको छ । खेल खेलाउँदै आएका सट्टेबाजले निकै व्यवस्थित सूचना प्रणाली अपनाएर बुकी सञ्चालन गर्नेगरेको छन् । प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुनअनुसार मात्र कारबाही चलाउने भएकोले प्रहरीको कारबाहीलाई खासै वास्ता नगर्ने हुँदा यस्ता सट्टेबाज कारोबारीले इज्जतसँग मात्र सरोकार राख्ने गरेकाले पनि यो खेल मौलाउन पुगेको प्रहरीको उच्चस्रोतले बताएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया