Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशजीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु

जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु


झापा । कक्षा १२ उत्तीर्ण दृष्टिविहीन जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिन्छन् । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उनले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । दृष्टिविहीन रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग सङ्कलन गरिरहेकी छिन् । चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिएकी छिन् । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उनीसँग सुरिलो स्वर छ ।

झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुङ्गा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका दृष्टिविहीनको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ । उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पिकर हुन्छ । दृष्टिविहीन गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को विकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी नभनी सडकमा दिनभर गाउन बाध्य छन् ।

कचनकबल घर भएका जेठा मुर्मु अहिले ३५ वर्ष पुगे । कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उनले सङ्गीतको डिप्लोमा कोर्स पूरा गरेका छन् । गाउने सुरिलो स्वर भएका उनी सङ्गीत प्रशिक्षकको रुपमा पनि चिनिन्छन् । तर, नियतिले उनलाई हातमुख जोड्ने सङ्घर्षको क्रममा सडकमै पुर-यायो । “पढेको पनि हो, सङ्गीत पनि जानेको हो, तर जागिर कतै पाइएन,” मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिएको उनी भन्छन्–“श्रीमती र बालबच्चा यही गीत गाएर पालिरहेको छु ।”

मुर्मु चार वर्षदेखि पत्नी र नौ वर्षको छोरासँग विर्तामोड–४ मा डेरा बस्दै आएका छन् । पत्नी पनि दृष्टिविहीन नै हुन् । छोरा हाल विर्तामोडको एक आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका छन् । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म मुर्मु सडकमा गीत गाएर माग्न गएका थिएनन् । काँकरभिट्टाको महिला विकास सहकारी संस्थाको कार्यालयमा सञ्चालित सङ्गीत कक्षामा उनी प्रमुख प्रशिक्षक थिए ।

उनीसँग सङ्गीत सिकेका थुप्रै बालबालिका अहिले राम्रा कलाकार बनिसकेका छन् । “बन्दाबन्दी सुरु भएपछि जिन्दगीको बेहाल भयो, त्यसअघि नै सङ्गीत कक्षा पनि बन्द भइसकेको थियो,” मुर्मुले सकसका दिनहरु सम्झिदै भने–“परिवारको पेट पाल्न मुस्किलका दिन आएपछि मैले सडकमा गएर गाउने निधो गरेँ । अहिलेसम्म परिवारको भरणपोषण यसैबाट भइरहेको छ ।” हरेक बिहान डेरामै खाना खाएर उनी बाहिर निस्कन्छन् । उनलाई सहरका चोक र गल्लीमा पु-याउने जिम्मा एकजना सहयोगीले लिएका छन् ।

सिटी रिक्सा वा टेम्पो चढेर उनीहरु बाजाका सामानसहित निर्धारित चोकमा पुग्छन् । ट्र्याक्टरमा मीठामीठा गीत गुन्गुनाउँदा मुर्मुको वरिपरि झुम्मिने दर्शकले दया र सम्मान दुबै दृष्टिले नगद सहयोग गर्छन् ।

आर्थिक सङ्कलनका लागि गीत गाउँदै भारतको दार्जिलिङसम्म पुगिसकेको बताउँछन् उाी । मुर्मु र उनको अर्को दृष्टिविहीन साथी दिनभरि आर्जेको नगद एकै ठाउँमा हिसाब गर्छन् र आम्दानी बराबर बाँडेर लिने गर्छन् । जेठा मुर्मु कहिलेकाहीँ एक दिनमै रु. दुई हजारसम्म कमाउने गरेको बताउँछन् । आर्जेको यही नगदले डेराको भाडा तिर्ने, बालबच्चाको पढाइखर्च व्यहोर्ने र परिवारको खानपान धान्ने गर्दै आएको उनले बताए ।

हल्दिबारी घर भएकी २८ वर्षीया दृष्टिविहीन रोजिना खातुनको पारिवारिक कथा दर्दनाक छ । चार वर्षअघि दृष्टिविहीन पति सुभाष लिम्बूले सौता भित्र्याए । अर्की पत्नी लिएर पति हिँडेपछि दुई नाबालक छोराको सम्पूर्ण जिम्मेवारी रोजिनाको एक्लो काँधमा आयो । उनको एउटा १२ वर्षको छोरो जुनकिरी आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेको छ भने चार वर्षको अर्को छोरोलाई साथमै लिएर सडकमा गीत गाउन हिँड्ने गरेकी छिन् ।

दिनभरि एउटै थलोमा गीत गाउन बस्नु पर्दा चुलबुले छोरो टाढा नजाओस् भनेर उनले आफू र छोरालाई कम्मरमा सलले बाँध्ने गरेकी छिन् । “त्यत्तिकै माग्दा कसैले केही दिदैन, पापी पेट भर्नै प-यो,” विर्तामोडको हिकोला रोडमा गीत गाउँदै गर्दा भेटिएकी उनले भनिन्–“गीत गाएर मागेका छौँ । कसैले केही जागिर दिँदैन । काम पनि गर्नसकिने खालको पाइँदैन । कोठा भाडा तिर्नै प-यो । दाल चामल किनेर खानै प-यो । बच्चाको पढाइखर्च दिनै प-यो ।”

झापाको पहिलो ब्याचका एसएलसी उत्तीर्ण दृष्टिविहीन दीपक थापा नेपालमा दृष्टिविहीन र अपाङ्गहरुले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण नभएको बताउँछन् । “सडकमा मागेर हिँड्नु राम्रो होइन, तर यसोगर्नु दृष्टिविहीनको बाध्यता हो,” विर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्षसमेत रहेका थापा भन्छन्–“पेट छ, खान मन लागिहाल्छ । घरमा खानेकुरा केही पनि छैन । बाँच्नका लागि बाध्य भएर तातो घाममा पसिनाले निथ्रुक्कै भिजेर दृष्टिविहीन भाइबहिनी गीत गाएर माग्न बाध्य छन् । यो कसैको पनि रहर होइन ।”

रोजगारी नपाएका र बिहेपश्चात आर्थिक सङ्कट झेलिरहेका दृष्टिविहीन प्रायः सडकमा गीत गाएर माग्नुपर्ने बाध्यतामा परेको उनको भनाइ छ । राज्यले दृष्टिविहीनका लागि तालिमको सीमित अवसर प्रदान गरे पनि तालिमपछि उनीहरुलाई स्वरोजगार बन्न चाहिने पुँजी र बजारको प्रबन्ध नगरेको थापाले गुनासो गरे । झापा नेत्रहीन सङ्घकी अध्यक्ष यशोदा बराल दृष्टिविहीनको स्वरोजगारीका लागि सङ्घले स्थानीय तह र संस्थासँग मिलेर विभिन्न तालिम दिलाउने गरेको बताउँछिन् ।

कनकाई नगरपालिकाले उनीहरुलाई उद्यमी बनाउन बीउ पुँजीसमेत दिएको उल्लेख गर्दै अध्यक्ष बरालले विभिन्न सीपमूलक र आयमूलक तालिममा दृष्टिविहीनलाई समावेश गरिँदै आएको जानकारी दिइन् । नेत्रहीन युवा सङ्घको झापा शाखा अध्यक्ष दिलकुमार राजवंशी सडकमा माग्न विवश दृष्टिविहीनको बढ्दो सङ्ख्याले मुलुकमा दृष्टिविहीनहरुको अवस्था नाजुक रहेको सावित हुने बताउँछन् । “कतिपय साथी सडकमा गीतको माध्यमबाट माग्न गइरहनुभएको छ, यसरी जानु नपरोस् भनेर प्रयास गरिरहेकै छौँ,” सङ्घको कोषाध्यक्षसमेत रहेको राजवंशी भन्छन्–“जेठा मुर्मु जस्तो पढेलेखेको सक्षम साथी पनि सडकमै पुग्न बाध्य हुनुभएको छ ।”

राज्यले दृष्टिविहीनलाई वर्गीकरण गरी तीन तहको परिचयपत्र प्रदान गर्दै आएको छ । रातो, नीलो र पहेँलो रङको कार्ड उनीहरुले पाउने गरेका छन् । पूर्ण दृष्टिविहीन र अल्पदृष्टि भएका आधारमा राज्यबाट उनीहरुले पाउने मासिक भत्ताले जीविका चलाउन सम्भव छैन । पूर्ण दृष्टिविहीनलाई सरकारले मासिक रु. चार हजार भत्ता दिँदै आएको छ । कतिपय दृष्टिविहीनहरु अन्तरनिहीत प्रतिभाका कारण राष्ट्रिय व्यक्तित्वसमेत बनेका छन् । चर्चित वक्ता तथा साहित्यकार रमेश प्रसाईं र प्रसिद्ध गायिका मेनका पौडेल झापा नेत्रहीन सङ्घको सदस्य हुन् ।

दुबैले झापामै माध्यमिक तहको शिक्षा र सङ्गीतको अध्ययन पूरा गरेका हुन् । झापामा सङ्घका ११५ सदस्यमध्ये पाँच जना स्नातकोत्तर तह उत्तीर्ण, ३० जना स्नातक र अधिकांश एसईइ तहका छन् । सङ्घमा सदस्य नरहेकासमेत जोड्ने हो भने झापामा दृष्टिविहीनको सङ्ख्या दोब्बर रहेको अनुमान गरिन्छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया