Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशपटक–पटक म्याद थप हुँदा समेत सडक निर्माण अलपत्र

पटक–पटक म्याद थप हुँदा समेत सडक निर्माण अलपत्र


दोलखा । बागमती प्रदेश सरकारले दोलखामा ठेक्कामार्फत निर्माण सुरु गरेका नौ वटा सडक अलपत्र परेका छन् । पटक–पटक म्याद थप हुँदा समेत निर्माण कम्पनीले सडक निर्माणलाई अलपत्र बनाएर राखेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकमार्फत जिल्लामा एक अर्ब ७३ करोड ८१ लाख ५८ हजार चार सय ६१ रुपैयाँमा नौ वटा सडक निर्माणाधीन छन् । कार्यालयले जिल्लाको सितली–मेलुङ–बुद्दचोक सडक निर्माणका लागि १३ करोड ७६ लाख ६७ हजार पाँच सय ७९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०७७ साल असार १८ गते बिरुवा वाइबा एन्ड लामा जेभीसँग सम्झौता गरिएको उक्त सडक पाँचौँ पटक म्याद थप हुँदा समेत सम्पन्न भएको छैन । यस्तै, मुडे–बाघखोर–देउराली–ढुङ्गे सडक निर्माण तथा स्तरोन्नति पनि अलपत्र छ । २०७६ साल असारमा ३३ करोड ७७ लाख ५४ हजार तीन सय ५७ रुपैयाँमा महालक्ष्मी द कन्चनजङ्गा शुभकामना जेभीलाई सो सडक निर्माणको जिम्मा दिइएको थियो । सम्झौताको पाँच वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सो सडकमा चार पटक म्याद थप भइसकेको छ ।

त्यसैगरी कार्यालयले मैनापोखरी सिद्दाको थान–जुगु झ्याकु सडक निर्माण स्तरोन्नति गर्न २०७७ साल असार २४ गते गजुरमुखी मोतीदान बिरुवा जेभीसँग सम्झौता गरेको थियो । सो सडक निर्माण सुरु भएको चार वर्ष हुँदा पनि सकिएको छैन । उक्त सडक स्तरोन्नति गर्न ४५ करोड ७० लाख ३२ हजार चार सय ९३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो सडकका दुई पटक म्याद थप भइसकेको छ । कार्यालयले २०७८ साल असोज १० गते ठेक्का सम्झौता गरेको सदरमुकाम चरिकोटलाई जोड्ने भटमासे जिलु सडकको निर्माण कार्य पनि अझै अलपत्र छ । उक्त सडक निर्माणको लागि ओम बुद्ध नन्द आर्डी जेभीले सात करोड ५८ लाख ५० हजार चार सय ४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो सडक निर्माणको लागि पनि दुई पटक म्याद थप भइसकेको छ ।

त्यसैगरी कार्यालयले १३ करोड ३६ लाख ६६ हजार सात सय २० रुपैयाँमा चरिकोट–देउराली सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । २०७९ साल भदौ २ गते जय धनञ्जय भुजेल जेभीसँग सम्झौता गरिएको सो सडक एक पटक म्याद थप गरिएको छ । सो सडक भने निर्माणको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । यस्तै, कार्यालयले १४ करोड ४८ लाख २२ हजार सात सय ८६ रुपैयाँमा देउराली–कालिञ्चोक सडक निर्माणका लागि २०७८ साल साउन ४ गते एक्थुनघ्याङ दाप्चा सिमपानी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । सो सडक एक पटक म्याद थप्दा पनि जम्मा ५६ दशमलव ७२ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

कालिञ्चोक गाउँपालिकामा निर्माणाधीन रहेको सुनखानी–साङ्बा सडक पनि अलपत्र छ । कार्यालयले २७ करोड ३६ लाख छ हजार दुई सय ४१ रुपैयाँमा २०७८ साल चैत ९ गते केएस सुनकोशी जेभीसँग निर्माण सम्झौता गरेको थियो । सो सडकको पनि एक पटक म्याद थप गरिसकिएको छ । यस्तै, जिरी–ठोसे शिवालय सडक निर्माणका पनि अलपत्र छ । पाँच करोड पाँच लाख ४२ हजार आठ सय ५५ रुपैयाँमा २०७९ साल चैत १६ गते सो सडक निर्माणका लागि ठेक्का लागेको थियो । सम्झौताअनुसार चालू आर्थिक वर्षमा सडक निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ३४ दशमलव ८८ प्रतिशत मात्र सम्पन्न भएको छ ।

सिगटी–लादुक–बुलुङ लामाबगर सडकमा पनि हालसम्म १५ दशमलव ३७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । १२ करोड ७२ लाख १४ हजार नौ सय ८३ रुपैयाँमा गणेश एन्ड गङ्गा इफ्फाटा शान्तिदेवी जेभीले ठेक्का सम्झौता गरेको सो सडक भने यसै वर्षबाट निर्माण सुरु गरिएको हो । भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले कतिपय सडक अन्तिम चरणमा पुगेको बताए । कार्यालय प्रमुख यादवका अनुसार धेरैजसो सडक यहीँ आर्थिक वर्ष भित्र काम सक्नेगरी काम भइरहेको बताए । हिउँदमा धुलाम्मे र वर्षाद्मा हिलाम्मे हुने मुख्य ग्रामीण सडक समयमै स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।


क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x