Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशबाढीका कारण तामाकोशी हाइड्रोपावरको विद्युत् उत्पादन बन्द

बाढीका कारण तामाकोशी हाइड्रोपावरको विद्युत् उत्पादन बन्द


दोलखा । अविरल वर्षाका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बन्द गरिएको छ । तामाकोशी नदीमा ठूलो बाढी आएका कारण चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

शुक्रवार बेलुकीदेखि अत्याधिक वर्षा भएर नदीमा ठूलो बाढी आएपछि आयोजनाको उत्पादन बन्द गरिएको आयोजनाका विद्युत् उत्पादन गृह प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । उनका अनुसार आयोजनाको बाँध क्षेत्रमा दुई सय ८५ घनमिटरसम्म पानी मापन भएको थियो । आयोजनाको सुरक्षाका लागि विद्युत् गृह नै बन्द गर्नुपर्ने भएकाले शुक्रबार रातिदेखि नै उत्पादन बन्द गरेको उनले बताए । २०० घनमिटरभन्दा बढी पानीको सतह पुगेपछि सामान्यतः आयोजनामा पुग्न सक्ने सम्भाव्य क्षतिलाई आकलन गरी विद्युत् गृह बन्द गर्ने गरिन्छ । तामाकोशी नदीको सहायक नदी लप्ची खोला र जुम खोलाका कुनै ठाउँमा पहिरोले खोला थुनिएर ताल बनेर फुटेर बाढी आएको हुन सक्ने अनुमान छ । तामाकोशी नदीले अहिले गोंगरदेखि तल्लो क्षेत्रमा कटान तीव्र पारेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ । तामाकोशी पानीको बहाव उच्च रहेकाले केहि दिन नदी तटीय क्षेत्रका क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीपहिरोमा परेर एक महिला बेपत्ता
जिल्लाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका र बिगुको सिमानामा पर्ने गोँगर क्षेत्रमा लगातार परेका अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक महिला बेपत्ता भएकी छिन् । गौरीशंकर गाउँपालिका वडा नम्बर–९ को सिमिगाउँ च्छोरोल्पा पदमार्गमा पर्ने डोगाङकी स्थानीय ६० वर्षीय जाङ्मु शेर्पा बाढीमा परि बेपत्ता भएकी हुन् ।

उनको खोजी कार्य भइरहेको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले बताए । बिहानदेखि नै नेपाली सेना, सशस्त्र, जनपथ र वडा तथा पालिकाको विपद् व्यवस्थापन टिमले खोजी गरिरहेको छ । बाढीले सिमिगाउँ च्छो–रोलपा डोगाङमा रहेको तीन वटा घर तथा पाँच वटा होटल समेत बगाएको छ भने सयौं हेक्टर खेतीयोग्य जमिन कटान गरेको छ ।


क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x