Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने


काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव गर्ने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले असोज ११ गते महोत्सव आयोजना गर्न लागिएको हो ।

परिषद्ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने जानकारी दिएको छ । महोत्सवका संयोजक राजीव पाण्डेले उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम तय गरिएको बताए । विगतमा कर्मचारी सञ्चय कोष अगाडि मात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा केन्द्रित रहनेछ । जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुरकला, पर्यटन मार्गमा चङ्गाहरूले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा साङ्गीतिक दबूः, टयाटु उत्सवलगायत कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।

ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक ढङ्गले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताए । उनले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरे । रेस्टुरेन्ट तथा बार एसोसिएसनका अध्यक्ष सङ्घर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवका लागि करिब १८ लाख रुपैयाँ खर्च लाग्ने तथा १० हजार बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पर्यटकीय याम सुरु भएका सन्दर्भमा महोत्सवलगायत गतिविधिले मुलुकको पर्यटन बढोत्तरीमा टेवा पुग्ने जनाइएको छ ।


क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x