Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशआगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै

आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै


दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन् । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए ।

क्षतिको यकीन विवरण आइनसकेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले विवरण सङ्कलन गर्न थालिएको बताए । उनका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ । एउटा पसलमा लागेको आगो सल्किँदा अन्य पसलमासमेत क्षति पुगेको अनुमान गरिएको उनले बताए ।

क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण
यसैबीच आगलागीपीडितलाई राहतका लागि पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका छन् । फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताउँदै उनले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन लागेको सन्दर्भका कारण यस दुःखको समयमा पीडितसँग भेटगरी स्थलगतरुपमा घटनाको वास्तविक जानकारी लिनसक्ने अवस्था नभएका भन्दै सांसद श्रेष्ठले प्रत्यक्षरुपमा उपस्थित हुन नसके पनि क्षतिपूर्तिका लागि सरकारको निरन्तर ध्यानाकर्षण गराउने बताए ।

आगलागीबाट भएको क्षतिको विवरणका आधारमा आवश्यक राहत उपलब्ध गराउन प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारसँग आग्रह गरेका छन् । उनले मुचुल्का उठाइ सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत आग्रह गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x