Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदपोखराको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

पोखराको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत


गण्डकी । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् ।

रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले दुखेसो गरे । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उनले बताए । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उनले भने, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।”

बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको उनले बताए ।

हालसम्म त्यसमा एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४/२०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ ।

पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताए । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उनको टिप्पणी छ । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ ।

पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ”, उनले भने ।


क्याटेगोरी : खेलकुद, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x