Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशपोखरा महानगर र जापानको होकुतो सहरबीच मित्रता

पोखरा महानगर र जापानको होकुतो सहरबीच मित्रता


पोखरा । पोखरा महानगरपालिका र जापानको होकुतो सहरबीच पर्वतीय नगर मित्रता कायम भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चरस्थित होकुतो नगर प्रमुख एइजी उएमुराले सोसम्बन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

पोखरा महानगर प्रमुख आचार्यले दुवै नगरबीच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको बताए । सम्झौताअनुसार दुवै सहरका नागरिक एकअर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अघि बढाउन प्रतिबद्ध रहने छन् । पोखराको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो । हालसम्म विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको प्रमुख आचार्यले बताए । ‘पछिल्लो पटक १५औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ’, उनले भने, ‘यसले पोखराजस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासको आदानप्रदानमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतोबीच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । होकुतो नगरका नगर प्रमुख उएमुराले अन्तर्राष्ट्रिय मैत्रीभावद्वारा प्रेरित भई दुवै सहरका नागरिकबीच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्यसहित द्विपक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अघि बढाउन समझदारी भएको बताए । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा र होकुतो नगरका बीचमा अनुभव आदानप्रदान र नयाँ सिकाइका लागि यो सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले पर्वतीय पर्यटनको प्रवर्द्धन नयाँ उचाइमा पुग्ने धारणा राखे । पोखराले विदेशका १३ र देशभित्रमा दुई नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, नगरपालिका
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x