Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशकर्णाली प्रदेशमा घट्यो बैंकहरूको कर्जा प्रवाह

कर्णाली प्रदेशमा घट्यो बैंकहरूको कर्जा प्रवाह


बैंक तथा वित्तीय संस्थाहरूले कर्णाली प्रदेशमा कर्जा प्रवाह घटाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी कर्णाली प्रदेशको अर्धवार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा कर्णाली प्रदेशमा निक्षेप बढे पनि कर्जा लगानी घटेको छ । एक वर्षअघिको तुलनामा गत पुस मसान्तमा बैंकहरूले प्रवाह गरेको कर्जा साढे २० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८०को पुस मसान्तमा ५९ अर्ब ५० करोड १० लाख कर्जा प्रवाह भएकामा एक वर्षपछि आर्थिक वर्ष २०८०/८१ पुस मसान्तमा ४७ अर्ब ३० करोड ६० लाख रूपैयाँमा झरेको छ । प्रतिवेदनअनुसार क्षेत्रगत कृषि कर्जाअन्तर्गत समीक्षा अवधिसम्म कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ५७ प्रतिशतले घटेर चार अर्ब ५२ करोड १९ लाख रूपैयाँ कायम भएको छ । समीक्षा अवधिमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी सनपाट शीर्षकमा अधिक वृद्धि भई १० लाख ३० हजार रुपैयाँ पुगेको छ भने सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । कर्णाली प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै दुई अर्ब ३७ करोड ५२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम ९२ करोड १२ लाख मुगु जिल्लामा प्रवाहित भएको देखिएको छ ।

क्षेत्रगत औद्योगिक कर्जातर्फ भने कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म पाँच अर्ब २८ करोड ७७ लाख रहेको कुल औद्योगिक कर्जा चालू आर्थिक वर्षको छ महिनामा ३७ दशमलव ५५ प्रतिशतले घटेर तीन अर्ब ३० करोड २१ लाख कायम भएको छ । समीक्षा अवधिमा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जामा सबैभन्दा बढी ७९ दशमलव १६ प्रतिशतले कमी प्रतिवेदनमा उल्लेख छ । यसैगरी धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५ दशमलव ९३ प्रतिशतले कमी आएको छ । चालू आवको छ महिनामा सुर्खेत जिल्लामा सबैभन्दा धेरै दुई अर्ब ४२ करोड ३७ लाख औद्योगिक कर्जा उपयोग भएको छ भने सबैभन्दा कम ८२ लाख रुपैयाँ कर्जा हुम्ला जिल्लामा उपयोग भएको छ । औद्योगिक कर्जा घट्नुको प्रमुख कारणहरूमा आन्तरिक मागको कमी, लगानीयोग्य वातावरणको कमी, औद्योगिक विकासका लागि आवश्यक पर्ने पूर्वाधारहरूको अभाव, सम्बन्धित सरोकारवाला निकायहरूको विश्व बजारमा पहुँच स्थापना गर्नका लागि आवश्यक समन्वयकारी भूमिकाको अभावजस्ता कारणहरू रहेको राष्ट्र बैंकको भनाइ छ ।

चालू आर्थिक वर्षको छ महिनामा कुल औद्योगिक कर्जामध्ये गैरखाद्यवस्तु उत्पादनसम्बन्धी क्षेत्रको अंश सबैभन्दा बढी ३० दशमलव ९२ प्रतिशत र खानीसम्बन्धी क्षेत्रको अंश सबैभन्दा कम एक दशमलव ९३ प्रतिशत रहेको छ । त्यसैगरी, निर्माणसम्बन्धी उद्योग, कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योग, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योग र विद्युत्, ग्यास तथा पानीसम्बन्धीे कुल औद्योगिक कर्जाको क्रमशः २६ दशमलव ५५ प्रतिशत, २५ दशमलव ४५ प्रतिशत, १० दशमलव ५४ प्रतिशत र चार दशमलव ६१ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनमा उल्लेख छ । निक्षेप संकलन बढ्योकर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप एक वर्षअघिको तुलनामा चालू आवको छ महिनामा पाँच दशमलव ४२ प्रतिशतले बढेर ६५ हजार ९८ करोड ४७ लाख रूपैयाँ पुगेको छ ।

एक वर्षअघि २०७९ पुस मसान्तमा यस्तो निक्षेप २७ दशमलव ३० प्रतिशतले बढेर ६२ अर्ब ५९ करोड २४ लाख प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको छ महिनामा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २० दशमलव ५० प्रतिशतले घटेर ४७ अर्ब ३० करोड ५७ लाख रूपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव ७२ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड १३ लाख पुगेको थियो । गत पुस मसान्तसम्म कर्णाली प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७१ दशमलव ६९ प्रतिशत छ । उक्त अनुपात गत आर्थिक वर्षको सोही अवधिमा ९५ दशमलव शून्य छ प्रतिशत थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा सङ्कलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको देखिएको छ । गत पुस मसान्तमा ३० अर्ब ६१ करोड ५४ लाख निक्षेप सङ्कलन भएको छ भने, सोही अवधिमा २७ अर्ब २३ करोड ४४ लाख कर्जा प्रवाहित भएको छ । त्यस्तै सबैभन्दा कम निक्षेप सङ्कलन डोल्पा जिल्लामा ५० करोड ९३ लाख भएको छ भने मुगु जिल्लामा सबैभन्दा कम दुई अर्ब ८ लाख कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x