Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशकर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात सेवा अवरुद्ध

कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात सेवा अवरुद्ध


मुगु । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।

गाडी र विमानस्थल दुवै नचल्दा छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि रोकिएको बताए । यही असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहेका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाही र उनी जस्ता धेरैको परीक्षा छुटेको छ ।

परीक्षा मात्र होइन उपचार गर्न जाने बिरामी र प्रदेश तथा सङ्घीय राजधानी जाने कर्मचारी यातायातका साधन नचल्दा जिल्लामै रोकिनुपरेको छ । दैनिक उपभोग्य र निर्माण सामग्री बोकेका गाडी बीच बाटोमै रोकिएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढाले बताए । उनले भने, “वर्षाले अवरुद्ध यातायात सेवा अझै नखुल्ने हो भने बजारमा दैनिक उपभोग्य वस्तु अभाव हुन सक्छ ।”

कर्णाली राजमार्गको कालीकोट खण्डमा खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोलालगायत १२ स्थानमा पहिरा, बाढी र लेदो आउँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटिले जानकारी गराए । अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले अवरोध पन्छाउन स्काभेटर प्रयोग गरिरहेको जनाएको छ ।

मौसम सुधार हुन नसक्दा सडक मात्र अवरुद्ध नभइ हवाई सेवा पनि ठप्प भएको हो । मुगुको रारा, हुम्लाको सिमिकोट, जुम्लाको जुम्ला र डोल्पाको जुफाल विमानस्थलमा मौसम सुधार नभएकै कारण एक सातादेखि जहाजले उडान भर्न नसकेको नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले जानकारी दिए । उनका अनुसार उडान बन्द भएपछि यात्रु विमानस्थलमै रोकिएका छन् ।

स्थानीय कुशलराज मल्लले उपचारका लागि छिटो सहर पुग्नुपर्ने बिरामीहरु सबैभन्दा बढी मारमा परेको बताए । लगातारको वर्षाले गाउँगाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने ग्रामीण सडकसमेत् अवरुद्ध भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x