Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्न्बिनी प्रदेशरोल्पा परेवा छहरा जिप दुर्घटना: सातको निधन, आठजना घाइते

रोल्पा परेवा छहरा जिप दुर्घटना: सातको निधन, आठजना घाइते


लुम्बिनी । रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।

घाइते मध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छजनाको पहिचान भएको छ भने एकजना बालिकाको पहिचान भएको छैन ।

दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी– ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले राससलाई जानकारी दिए । पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशङ्का गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

घाइते आठजनामध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका छजनालाई भने थप उपचारका लागि गएराति नै बुटवल ल्याइएको छ । सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको जनाइएको छ । चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको हुनसक्ने आशंका गरिएको छ ।

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो । जिपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा जिपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ । तालाबाङ गाउँमा शोक परेको छ । जिप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए ।


क्याटेगोरी : लुम्न्बिनी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x