Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्न्बिनी प्रदेशलुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत


काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वर्ल्ड हेरिटेज कमिटी)को ४६औँ सेसनअन्तर्गत बिहीबार भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयसहितको टोली उक्त सेसनमा सहभागी हुन नयाँदिल्ली पुगेको थियो । वर्ल्ड हेरिटेज कमिटिका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरू उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै सन् २००२ देखि चेतावनी दिँदै आएको थियो भने सन् २०२२ मा पत्र पठाएर सचेत गराएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरूले कूटनीतिक पहल गरेका थिए ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव, युनेस्को तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईलगायतबाट कूटनीतिक पहल भएको थियो । उपाध्यक्ष डा लामाले नेपालस्थित विभिन्न देशका राजदूतसँग समेत यस विषयमा जानकारी गराउनुका साथै नयाँ दिल्लीमा जारी बैठकमा समेत लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल गरेका थिए ।


क्याटेगोरी : लुम्न्बिनी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x