Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशआयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो


वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखापरेको छ ।

कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आव भरिमा सबै शीर्षकमा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको बताए ।

“गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ”, उनले भने, “गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।”

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । राससका अनुसार कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत दुई अर्ब ३९ करोड ८६ लाख २० हजार सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x