Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशमा बैंकहरूको निक्षेप बढ्यो, कर्जा घट्यो

कोशी प्रदेशमा बैंकहरूको निक्षेप बढ्यो, कर्जा घट्यो


काठमाडौं, कोशी प्रदेशमा बैंक तथा संस्थाहरूको निक्षेप रकम बढे पनि कर्जा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी कोशी प्रदेशको प्रतिवेदनअनुसार २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन चार दशमलव एक प्रतिशतले बढेर चार खर्ब ३८ अर्ब पुगेको छ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा २० दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निक्षेपमा दिने ब्याजदर, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ । तर, २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा यो प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा चार दशमलव चार प्रतिशतले घटेर पाँच खर्ब ३१ अर्ब रुपैयाँमा खुम्चिएको देखिन्छ छ । यस्तै २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कुल कर्जा प्रवाह चार दशमलव छ प्रतिशतले घटेको छ ।

२०८० पुस मसान्तसम्म प्रवाह भएको कर्जामध्ये कृषिमा १० दशमलव आठ प्रतिशत, औद्योगिक क्षेत्रमा २४ दशमलव चार प्रतिशत र सेवा क्षेत्रमा ६४ दशमलव आठ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा छ दशमलव एक प्रतिशतले घटेर ५७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कोशी प्रदेशमा पाँच खर्ब ३१ अर्बबराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १० दशमलव आठ प्रतिशत छ । २०८० असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० दशमलव ९७ प्रतिशत थियो ।

यसैगरी २०८० पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरूमा प्रवाहित कर्जामध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २८ दशमलव पाँच प्रतिशत छ । प्रतिवेदनअनुसार कृषि कर्जा मोरङ जिल्लामा सबैभन्दा बढी १८ अर्ब २५ करोड अर्थात् ३१ दशमलव आठ प्रतिशत प्रवाह भएको छ । सोलुखुम्बुमा जिल्लामा सबैभन्दा कम २८ करोड १३ लाख रुपैयाँ अर्थात् शून्य दशमलव पाँच प्रतिशत कर्जा प्रवाह भएको छ । २०७९ पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव आठ प्रतिशतले घटेको छ भने सो अवधिमा जिल्लागतरूपमा खोटाङ जिल्लामा सबैभन्दा बढी २२ दशमलव चार प्रतिशतले बढेको छ । साथै, भोजपुर जिल्लामा सबैभन्दा बढी २५ दशमलव दुई प्रतिशतले कृषि कर्जा घटेको छ ।

क्षेत्रगत औद्योगिक कर्जा २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेर एक खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा एक खर्ब २९ अर्ब १७ करोड रहेको थियो । २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा खानीसम्बन्धी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २० दशमलव सात प्रतिशतले वृद्धि भएको हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा निर्माण क्षेत्रमा प्रवाह भएको कर्जा सबैभन्दा बढी २० दशमलव पाँच प्रतिशतले घटेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा ठूलो अंश गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको ५१ दशमलव आठ प्रतिशत र सबैभन्दा कम अंश खानीसम्बन्धी उद्योगको शून्य दशमलव सात प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x