Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशउद्योग संगठन मोरङको आफ्नै गुणस्तर मापदण्ड प्रणाली ‘क्युसेफ’

उद्योग संगठन मोरङको आफ्नै गुणस्तर मापदण्ड प्रणाली ‘क्युसेफ’


विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डलाई आधार बनाई आफ्नै गुणस्तर मापदण्ड प्रणाली ‘क्युसेफ’ सञ्चालनमा ल्याएको छ ।

क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रूपमा स्थापित गर्न तथा प्राविधिकरूपमा यसलाई कार्यान्वयनमा ल्याउन उद्योग संगठनले राष्ट्रिय प्रमाणीकरण तथा व्यवस्थापन प्रालिसँग सहकार्य गरेको छ । संगठनका अध्यक्ष राकेश सुराना र नेसनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष जर्नादन घिमिरेले उक्त प्रणाली कार्यान्वयनमा ल्याउन एक सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् । गुणस्तर मापदण्डका असल अभ्यासहरूलाई प्रवर्द्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको बेञ्चमार्क तयार गर्न र सो अनुरूप पालनाका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्युसेफ गुणस्तर मापदण्ड प्रणालीको सुरुवात गरेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । उनले क्युसेफ एक स्वेच्छिक र स्वतन्त्र गुणस्तर प्रमाणीकरण प्रणालीको मानक भएको पनि बताए ।

संगठनको असल उत्पादनका अभ्यास प्रवद्र्धन समितिका संयोजक वीरेन्द्र राठीले यो प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षासम्बन्धी स्थापित मान्यताहरूको आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरूले अडिट गरेपश्चात प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने जानकारी दिए । नेसनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष जर्नादन घिमिरेले क्युसेफ मापदण्ड आईएसओ ९००१, १४००१, ४५००१, २२००० र ह्यास्यापलगायतका चार वटा छुट्टाछुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज भएको बताए । क्युसेफ प्रमाणीकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त चार वटा अन्तर्राष्ट्रिय मापदण्डका लागि तत्काल आवेदन दिएर प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

क्युसेफ मापदण्ड प्रणाली साना, मझौला, ठूला सबै प्रकारका उद्योग प्रतिष्ठानहरूले प्रयोग गर्न सक्नेछन् । यस प्रणालीले उत्पादन प्रक्रिया, वस्तुको गुणस्तरमा सुधार, कार्यस्थल व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, वातावरण तथा सामाजिक प्रतिष्ठामा अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले निर्धारण गरेका मापदण्ड, अनुपालनालगायतका विषयमा जानकारी प्रदान गरी सोही अनुरूपको मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने उद्योगहरूलाई विश्वव्यापी भ्यालुचेनमा प्रतिष्पर्धी बनाउन मद्दत पुर्याउने दाबी गरिएको छ ।

यो प्रणालीले सरकारले निर्धारण गरेका अनुपालनाहरू, उद्योग व्यवसायको प्रकृतिअनुसारका कानुनी प्रावधानहरू सुसूचित गरी जरिवाना, जोखिमहरूबाट बचाउनुका साथै राज्यले निर्धारण गरेका कानुनहरूको परिपालन गरी बजारमा प्रतिष्पर्धी, उपभोक्ताको विश्वास जित्न सक्ने, सामाजिक प्रतिष्ठा अभिवृद्धिका साथै व्यवसाय सञ्चालनमा सहजता ल्याउने संगठनको विश्वास छ । सःशुल्क व्यावसायिक विकासका सेवाका रूपमा संगठनले प्रारम्भ गरेको व्यवस्थापन मापदण्ड प्रणाली नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन लागिएको पहिलो मापदण्ड हो । सबै उद्योगी एवं व्यवसायीलाई यो सेवा उपलब्ध गराइने संगठनका अध्यक्ष सुुरानाले जानकारी दिए । गत साता सम्पन्न उद्योग संगठन मोरङको ५१औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले क्युसेफको लोगो अनावरण गरेका थिए ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x