Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा


मङ्गलबारे (इलाम) । आलोक खतिवडा २३ वर्षका भए । उनको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न नसक्ने छन् । उनी हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् ।

आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसकेका छन् । आलोकले गत वर्ष स्नातक पूरा गरेका हुन भने दाजु भुपालले तीन वर्षअघि स्नातक गरेका हुन् । उनीहरु दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गरेका हुन् ।

बुबाआमा बजारमा सामान्य तरकारी पसल गर्छन । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी सेवामा प्रवेश गराए । अपाङ्गता भएका धेरैले सामान्य अपाङ्गता हुँदा पनि माग्दै हात थापेर जीविकोपार्जन गरिरहेको अवस्थामा आलोक मेहनत गर्दा सफल भइन्छ भन्ने उदाहरण बनेका छन् । आलोकले कार्यालयमा कम्प्युटर चलाउने र दर्ता गर्ने काम गर्दै आएको राससलाई बताए ।

“मेहनत गर्यो भने सफलता मिल्दोरहेछ”, आलोकले भने । दुईजना सन्तानमध्ये दुवैजना शरीरिक अपाङ्गता छ । दुवैजनाको कम्मर नचल्ने समस्या रहेको आमा तेजकुमारीले बताइन । कम्मर नचलेपछि एक ठाउँमा बसेका उनीहरु अर्को ठाउँमा सर्न सक्दैनन । दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।

कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा एउटा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताइन । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजान्थ्ये । दैनिक विद्यालय पुर्याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताए ।

इलामको सन्दकपुर घर भएका उनीहरु छोराहरु हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सरे । छोराहरुको शिक्षाका लागि भनेर लामो समय दुःख र सङ्घर्ष गर्नुपरेको उनले दुःसेसो सुनाए । “उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन । ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउपर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्यौँ”, उनले भने ।

“आफ्नो आफ्नो लेखान्त रहेछ । जे भए पनि एउटा खुसी पाएका छौँ”, आमा तेजकुमारीले भनिन । अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उनले जानकारी दिइन । “म तरकारी पसलमा बस्छु । बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ”, उनले भनिन ।

गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न गएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आएका थिए ।

आलोक जिल्लामा एक उदाहारण बनेको छ । मेहनतले सफल भइने उनको बुझाइ छ । उनी अरूलाई पनि मेहनत गर्ने सल्लाह दिन्छन् । उनले दोस्रो पटकमा नाम निकालेको हो । १२ जनाको कोटामा करिब तीन हजारको प्रतिस्पर्धा रहेको उनले बताए । “दोस्रो चरणमा पनि दुई सय ८४ जनाले परीक्षा दिएकामा खुल्ला तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको हुँ”, आलोकले भने । लोकसेवा आयोग धेरैको सपना जस्तै बनेको छ । उनीहरुले मेहनत गरेकाले सफलता मिलेको बताए ।

भुपाल योसहित तीन पटक लोकसेवाको परीक्षामा सहभागी भइसकेका छन् । अबको पटक नाम निस्कनेमा उनी पनि ढुक्क छन् । मेहनती र इमान्दार खतिवडा कार्यालयमा समेत राम्रो काम गर्ने कर्मचारीका रुपमा छन् ।

अपाङ्गतामैत्री कार्यालय निर्माण गरेर उनको सहजतामा समेत आफूहरु लागेको जिल्ला हुलाक कार्यालय इलामका निमित्त प्रमुख गणेश घिमिरेले बताए । “केही व्यक्ति अझै पनि सामान्य अपाङ्गता हुँदा केही गर्न सक्दिन भन्ने सोचमा हुन्छन् । आलोक उहाँहरु सबैका लागि प्ररणाको स्रोत बन्नुभएको छ”, उनले भने, “उहाँको पदोन्नति होस् अनि भुपाल पनि आगामी परीक्षामा सफल बन्नुहोस् भन्ने हाम्रो कामना छ ।”


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x