Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशमा पाँच खर्ब ५६ अर्ब कर्जा प्रवाह

कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्ब कर्जा प्रवाह


काठमाडौं,बैंक तथा वित्तीय संस्थाहरूले कोशी प्रदेशमा साढे पाँच खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी अर्धवार्षिक प्रतिवेदनमा २०७९ पुस मसान्तसम्म कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार क्षेत्रगत कृषि कर्जातर्फ भने कोशी प्रदेशमा २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा छ दशमलव दुई प्रतिशतले बढेर ५७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव छ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम भने ५४ अर्ब ५२ करोड थियो । समीक्षा अवधिमा कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्बबराबर कुल कर्जा प्रवाह भएकोमा कृषिक्षेत्रमा प्रवाहित कर्जाको अंश १० दशमलव चार प्रतिशत छ । २०७९ असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०७९ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकमा प्रवाहित कर्जामध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २७ दशमलव एक प्रतिशत छ ।

२०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित जिल्लागतरूपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १८ अर्ब २४ करोड रुपैयाँ (३१ दशमलव पाँच प्रतिशत) कर्जा प्रवाह भएको छ । यस अवधिमा सबैभन्दा कम कर्जा भने सोलुखुम्बु जिल्लामा प्रवाह भएको छ । सोलुखुम्बुमा कुल कर्जाको शून्य दशमलव छ प्रतिशत अर्थात् ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । २०७८ पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव एक प्रतिशतले बढेको छ भने सो अवधिमा जिल्लागतरूपमा सुनसरी जिल्लामा सबैभन्दा बढी १९ दशमलव तीन प्रतिशतले बढेको छ । ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी २० दशमलव तीन प्रतिशतले कृषि कर्जा घटेको छ ।

यसैगरी, क्षेत्रगत औद्योगिक कर्जातर्फ भने २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा एक खर्ब २१ अर्ब रहेको थियो । विशेषगरी २०७९ असार मसान्तसम्म न्यून रहेको विद्युत्, ग्यास तथा पानी उत्पादन गर्ने उद्योग र धातु, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाह भएको कर्जा बढेको हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिन्छ । २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा विद्युत्, ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा उच्च दरले वृद्धि भएको छ र यसको अंश कुल औद्योगिक लगानीको दुई दशमलव तीन प्रतिशत रहेको छ । खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा कम दरले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार औद्योगिक कर्जामध्ये सबैभन्दा ठूलो अंश गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको ४९ दशमलव छ प्रतिशत र सबैभन्दा कम अंश खानीसम्बन्धी उद्योगको एक दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशभित्र परिचालन गरेको निक्षेप शून्य दशमलव सात प्रतिशतले घटेर तीन खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कर्जा प्रवाह दुई प्रतिशतले बढेर पाँच खर्ब ५६ अर्ब रुपैयाँ पुगेको थियो । २०७९ पुस मसान्तमा कोशी प्रदेशको कर्जा निक्षेप–अनुपात एक सय ५२ दशमलव सात प्रतिशत छ । २०७९ पुस मसान्तसम्म कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६६ दशमलव छ प्रतिशत छ ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया